Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


चिनी मिलबाट १५ करोड भुक्तानी नपाएपछि आन्दोलनकाे तयारीमा उखु किसान


0
Shares

sugar cane farmer protest and sugar meal owner

काठमाडौं । चिनी मिललाई उखु विक्री गरेबापत पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अझैसम्म पनि नपाएका सर्लाहीका उखु किसानले बक्यौता रकम भुक्तानीको माग गर्दै फेरि पनि काठमाडौंमा आन्दोलन गर्ने तयारी थालेका छन् ।

सरकारको तथ्यांकअनुसार उखु किसानले चिनी मिलसँग पाउनुपर्ने कुल ६५ करोडमध्ये अझै १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । सोही रकमको भुक्तानी माग गर्दै उखु किसानले गत साउन दोस्रो साता काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बक्यौता रकम भुक्तानीका लागि उद्योगी र सरकारलाई भदौ ५ गतेसम्मको समयसीमा दिएका थिए । किसानले दाबी गरेको तथ्यांकअनुसार बाँकी रहेको कुल ९० करोड बक्यौता रकममध्ये २५ करोड रुपैयाँको भुक्तानी बाँकी रहेको छ ।

सरकार र उद्योगीबाट आफ्नाे मागको सुनुवाइ नभएपछि उखु किसानले आन्दोलन गर्ने तयारी थालेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार उखु किसानले सर्लाहीको अन्नपूर्ण चिनी उद्योगबाट ८ करोड, सर्लाहीकै महालक्ष्मी सुगर मिलबाट ५० लाख, रौतहटको श्रीराम सुगर मिलबाट ३ करोड, इन्दिरा सुगरमिल नवलपरासी बाट २ करोड र लुम्बिनी चिनी कारखानाबाट २ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । ‘यो रकम चाँडोभन्दा चाँडो भुक्तानी गरिपाऊँ भनी हामीले सरकारसँग बारम्बार बिन्ती गर्दा पनि सरकारले हाम्रो कुरामा चासो दिएन ।

त्यसैले आन्दोलन गर्नुको विकल्प छैन । हामी आन्दोलनको पूरा तयारीमा छौं जतिबेला पनि आन्दोलन शुरू हुन सक्छ,’ उनले भने ।

उद्योगीबाट किसानले पाउनुपर्ने सबै बक्यौता रकम उपलब्ध गराइदिने भन्दै सरकारसँग धेरैपटक सम्झौता गरे पनि अझै धेरै किसानले रकम नपाएको गुनासो गर्दै अब कुनै पनि सम्झौता गर्न आफूहरू तयार नरहेको उनले बताए । यसका साथै किसानले दाबी गरेको ९० करोड र सरकारले सही मानेको ६५ करोड बक्यौता रकममा कुरा नमिलेपछि त्यसको समस्या समाधानका लागि बनेको कार्यदलले पनि गोलमटोल प्रतिवेदन सार्वजनिक गर्दै किसानलाई दुःख दिने काम गरेको समितिका सचिव हरिश्याम रायले बताए ।

कार्यदलले किसानले उद्योगीबाट बक्यौता रकम पाउन बाँकी रहेको र उक्त रकम उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिए पनि रकमको मात्रा कति हो उक्त कुरा नखुलाएको उनको भनाइ छ । उखु किसानको संघर्षमा अखिल नेपाल किसान युनियन, अखिल नेपाल प्रगतिशील किसान संघ, अखिल नेपाल किसान महासंघलगायत संघसंस्थाले समेत साथ दिएका छन् । अभियान दैनिक