३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


सीमा सुरक्षा गर्न नसकेको भन्दै सांसदले गरे सरकारको कटू आलोचना


0
Shares

काठमाडौं, मंसिर २७ । सांसदहरुले सरकारले नेपाली भूमि सुरक्षा गर्न नसकेको भन्दै आलोचना गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार सीमा सम्बन्धमा भएको छलफलमा विभिन्न दलका सांसदले मुलुकको सीमा सुरक्षाका लागि संवेदनशील बन्न निर्देशन दिए ।

सांसदहरुले भारतले नेपाली भूमिसमेत समेटेर नक्शा निकाल्दा नेपालले आफ्नो भूमि रक्षाका लागि उपयुक्त पहल गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

छलफलमा सत्तारुढ दलकै सांसद भीम रावल, अग्नि सापकोटा, विपक्षी दलका सांसद प्रकाशमान सिंहलगायतले आफुसँग भएका प्रमाणका आधारमा नेपाली भूमि समेटेर नयाँ नक्शा निकाल्न केले छेकेको हो भन्दै प्रश्न गरेका थिए ।

समितिमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले भने आफ्नो भूमि फिर्ता लिन अनुकूल वातावरण भएको र सरकारले पहल गरिरहेको जवाफ दिएका थिए । नेपालले सीमा नजिक सशस्त्र प्रहरी बलसम्म पनि राख्न नसकेको स्वीकारे ।

कांग्रेस सांसद प्रकाशमान सिंहले राष्ट्रको सार्वभौमसत्ता रक्षाका लागि सरकारलाई विपक्षको पूर्ण साथ रहेको भन्दै दुई तिहाईको बलियो सरकार किन अलमलिइरहेको छ भन्ने प्रश्न गरे । उनले फलाम तातेको बेला पिट्नुपर्छ भनेजस्तै अहिले विषय उठेका बेला समाधान गर्नुपर्ने र विषयलाई अन्तर्राष्ट्रियकरण पनि गरिनुपर्ने बताए ।

नेकपाका सांसद भीम रावलले नेपालको हस्तक्षेप गरिएको भूभाग राखेर नयाँ नक्शा बनाउन के ले छेकेको हो भन्ने प्रश्न गर्दै सिमावर्ती आफ्नो भूभागमा सुरक्षाकर्मीसम्म पनि नराखिएकामा आश्चर्य व्यक्त गरे ।

नेकपा सांसद अग्नि सापकोटाले भारतले हाम्रो सार्वभौमसत्ता माथि थिचोमिचो गरेको भन्दै सरकारले गलत नक्शा र पाठ्यपुस्तक पढाइरहेकामा आपत्ति जनाए । लिम्पियाधुराको विषयमा सरकार मौन बसेको भन्दै उनले शक्तिशाली जनादेश हुनुको के अर्थ भन्ने प्रश्न गरे ।

सांसद उमा रेग्मी, सरिता गिरिलगायतले भारतसँग कुरा गर्न नै पनि सरकारले खुटट्टा कमाइरहेको आरोप लगाउँदै नेपालको सार्वभौमसक्तामाथि भारतले धावा बोलेको बताए ।

छलफलमा उपस्थित भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्शा जारी गर्ने पहल भइरहेको जानकारी दिइन् । भारतले नयाँ नक्शा जारी गरेपछि नेपालले कूटनीतिक नोट पठाएको र सीमा निरीक्षण समिति गठग गर्ने निर्णय गरेको उनको भनाइ छ ।