Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


माधव नेपाल प्रचण्ड र देउवाको मल बन्न जानुभयो–महेश बस्नेत

‘अब माओवादीको ठूलो पंक्ति हाम्रो पार्टीमा प्रवेश गर्छ’

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं सांसद महेश बस्नेतले माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मल बन्न गएको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा बस्नेतले माधव नेपाल देउवा र प्रचण्डको मल बन्न गएको टिप्पणी गर्नुभयो ।

‘माधव नेपालहरूले पार्टीलाई गुटबन्दीबाट ध्वस्त पारेर अराजक र अपराधिक काम गर्ने कांग्रेसको पाउमा चढाउने र प्रचण्डको टाङमुनि छिराउन खोजिएको थियो, यो अराजक र अपराधी गुटलाई बिदा गरियो,’ उहाँले भन्नुभयो, ‘ अहिले एमालेभित्र वसन्त ऋतुमा पालुवा पलाएको छ, माधव नेपाल कांग्रेस र माओवादीको मल बन्न जानुभयो, उहाँले गम्भीर अपराध गर्नुभयो, भुईँमा न भाँडोमा हुनुभयो ।’

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको गम्भीर आरोप लगाउनुभयो । सरकारले अध्यादेश ल्याएर एमाले कमजोर बनाउन खोजेको पुष्टि गरेको छ । ‘एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छैन,’ उहाँले भन्नुभयो, ‘अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले विभाजन गर्नेमात्रै देखियो ।’

आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षडयन्त्रका साथ अध्यादेश ल्याइएको नेता बस्नेतको जिकिर छ । यद्यपि आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उहाँको दाबी छ । केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा हल्लीखल्ली मच्चाउनेहरु अहिले चुप बसेकोमा उहाँले रोष पोख्नुभयो । उहाँले केपी ओलीले ल्याएको अध्यादेशले राजनीतिक प्रणाली बलियो बनाउनेसमेत दाबी गर्नुभयो ।

नेता बस्नेतले नेकपा एमाले विधान महाधिवेशन गर्दै जनसंगठन निर्माण र कमिटी निर्माणमा केन्द्रित हुने बताउनुभयो । आगामी निर्वाचनमा नेकपा एमाले सशक्त र बहुमतसहित आउने पनि दाबी गर्नुभयो । ‘हाम्रो अध्यक्षले पनि अब एमाले ५० लाख मतसहित आउनेछ भनेर भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘एमालेको विभाजन होईन यो चोईटिएको मात्रै हो, अब माओवादीको ठूलो पँक्ति हाम्रो पार्टीमा प्रवेश गर्नेछ ।’

माओवादी परित्याग गरी एमालेमा प्रवेश गरको नेताहरूलाई अहिले पनि उचित भूमिका दिइएको बस्नेतको भनाइ छ । नयाँ साथीहरूलाई एक्सेप्ट गर्ने र भूमिका दिने कुरामा पार्टी लचक भएको बताउँदै उहाँले माओवादी परित्याग गरी एमालेमा आएकाहरूलाई अब हुने उपनिर्वाचनमा उठाउन लागेको खुलासा गर्नुभयो ।