२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025


स्वर्ण जित्न चुकिन गौरिका सिंह, रजतमै सिमित


0
Shares

काठमाडौं । १३ औं सागको पौडीमा कीर्तिमानी जलपरी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छिन् । एक सय मिटर ब्याकस्ट्रोकमा गौरिकाले रजत पदक जितेकी हुन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा भएको खेलमा गौरिकाले निर्धारित दूरी एक मिनेट ३ दशमलव १५ सेकेन्डमा सकाउँदै रजत जितेकी हुन् ।

स्वर्ण जितेकी भारतीय खेलाडी राजीव मन्ना पटेलले एक मिनेट २ दशमलव ३६ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् ।

गौरिकाले यसअघि दुई सय मिटर ब्याकस्ट्रोक र दुई सय मिटर फ्रिस्टाइलमा स्वर्णपदक जितेकी थिइन् ।

व्यक्तिगततर्फ नेपालका लागि उनले कीर्तिमानी स्वर्णपदक दिलाएकी हुन् । आठौं सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० मिटर रिलेमा स्वर्णपदक जितेका थिए ।

नेपालले जारी सागमा २ स्वर्ण, २ रजत र १ कास्य जितेको छ । दुई सय मिटर ब्रेष्टस्ट्रोकमा दुअना लामाले रजत तथा गौरिका, दुअना, तिसा शाक्य र अनुसिया तण्डुकार रहेको टिमले चार सय मिटर फ्रिस्टाइल रिलेमा कास्य जितेको हो ।

शनिबार नेपालले एकमात्र रजत जिते पनि तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

गौरिकाले एक सय मिटर ब्याकस्ट्रोकमा पहिले आफैले बनाएको राष्ट्रिय कीर्तिमानमा चार सेकेन्डले सुधार गरेकी छिन् ।

त्यस्तै महिला ५० मिटर ब्रेष्टस्ट्रोकमा दुवना लामाले ३५ दशमलव ४६ सेकेन्डमा दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान सुधार गरिन् ।

यो विधामा उनी चौथो भएकी थिइन् । त्यस्तै एलेक्स शाहले एक सय मिटर ब्याकस्ट्रोकमा एक मिनेट ०२ दशमलव १ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाए ।

छैटौं भएका एलेक्सले यसअघि नाथन दोर्जे शेर्पाले बनाएको कीर्तिमान तोडेका हुन् । दुई स्वर्णपदकधारी गौरिकाले अझै चार विधामा खेल्न बाँकी छ । पौडी सोमबार सकिने छ ।