Logo १४ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026


वीपी प्रतिष्ठानमा अख्तियारको छापा, उपकरण खरिद र ठेक्कासम्बन्धी सबै कागजात नियन्त्रणमा


0
Shares

रत्न आचार्य
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी उपकरण खरिद तथा ठेक्कासम्बन्धी सबै कागजात नियन्त्रणमा लिएको हो । प्रतिष्ठानमा व्यापक भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि आयोगको टोलीले छापा मारेको हो ।

आयोगले केन्द्रीय कार्यालय टंगालका वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङको नेतृत्वको टोलीले प्रतिष्ठानमा छापा मारेको हो । वीपी प्रतिष्ठानमा औषधि, उपकरण खरिद, भौतिक निर्माण लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले मिलेमतो गरी बजार मूल्य भन्दा बढी मूल्यमा खरिद गरेको र ठेक्का लगाएको सूचना बाहिरिएपछि अख्तियारको टोेलीले प्रतिष्ठानमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

प्रतिष्ठानमा नियम विपरीत उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साह र लेखा प्रमुख र खरिद शाखा प्रमुखको मिलेमतोमा प्रतिष्ठानमा करोडौं हिनामिना गरिएको उजुरीका आधारमा अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो । टोलीले प्रतिष्ठानको लेखा शाखा, खरिद शाखा, स्टोर लगायतका शाखामा गई आबश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।

प्रतिष्ठानलाई आर्थिक अनियमितिा गरी धरासाही बनाएको भन्दै यहाँका चिकित्सक, कर्मचारीले समेत भ्रष्ट्रचारीलाई कारबाहीको माग गर्दै दुई महिनादेखि आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठान शुद्धिकरण् अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठानमा भएका सबै खाले भ्रष्ट्राचारको छानविन गरि तत्काल दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

प्रतिष्ठानका पदाधिकारीहरूले मातृ शिशु भवन, फार्मेसी भवन निर्माणमा तोकिएको भन्दा बढी रकममा ठेक्का लगाइ आर्थिक अनियमितिा गरेको, कोभिड अस्पताल सञ्चालन गर्दा करौडौं रुपैयाँ हिनामिना गरेको, प्रतिष्ठानको अक्सिजन प्लान्ट मर्मतमा लाखौ रुपैयाँ हिनामिना गरेको, आईसीयू, भेन्टिलेटर, बेड खरिदमा अनियमितता भएको थियो ।

Skip This