Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


खवरदार, स्थानीय तहलाई प्रदेश मातहत ल्याइएला ?–योगेश भट्टराई


0
Shares

काठमाडौं, साउन २० । नेकपा एमालेका नेता योगेश भट्टराईले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारमा राख्न खोजिए आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभएको छ ।

सामाजिक सञ्जालमा नेता भट्टराईले सत्तारुढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकार भित्र राख्न सुझाव दिएको भन्ने जानकारी पाएको भन्दै त्यस्तो गरिए संविधानको बर्खिलाप हुने लेख्नुभएको हो ।

भट्टराईले लैख्नुभएको छ, ‘प्रथमतः यो संविधानको बर्खिलाप छ । यसका लागि संविधान संशोधनले मात्र पुग्दैन व्यापक राष्ट्रिय सहमति चाहिन्छ । नेकपा एमाले सुरुदेखि नै यो अवधारणाको विपक्षमा छ, एमालेले साथ दिने कुरै हुँदैन । संविधान निर्माणताका कांग्रेस पनि एमालेकै विचारमा सहमत थियो । आज कांग्रेसले विचार बदल्नुको कारण के हो ? जनसमक्ष स्पष्ट गर्नु पर्दछ ।’

प्रदेश मातहत राख्दा हुने व्यवहारबारे उहाँले लेख्नुभएको छ, ‘दोश्रो, कतिपय देशमा स्थानीय तहलाई प्रदेशको मातहत राखिएको छ। ती देशमा प्रदेशले कुनै पनि बेला स्थानीय तहलाई विघटन गर्ने, स्थानीय तहलाई आफ्नो लाचार छाया बनाउने गरेका छन्। यसले आधारभूत तहमा नागरिकसँग दैनिक काम गर्नु पर्ने, राज्यका काम तथा सेवालाई आम नागरिकसम्म पु¥याएर राज्य र जनता बिचको दूरीलाई कम गर्दै व्यवस्थाका पक्षमा नागरिकको निरन्तर समर्थनप्राप्त गर्नु पर्नेमा यो सोचले त्यो कार्य कमजोर हुन जान्छ ।’

राज्य र जनताबीचको अन्तरविरोध फैलिँदै गएर व्यवस्था नै ढल्ने अवस्था आउन सक्ने भन्दै उहाँले ‘कतिपय देश र विगतमा हाम्रै मुलुकको उदाहरणले यही भन्छ, यस्तो कुरा जान्दा जान्दै सत्तारुढ गठबन्धन किन त्यता जाँदैछ ?’ भन्ने प्रश्न गर्नुभएको छ ।

तहगत शासकहरुमा पलाउने अहंकार र शक्ति उन्मादको शिकार मुलुक नहोस् र एक तह र अर्कोका बिचमा टकराव नहोस् भन्नका लागि तीनै तहलाई संवैधानिक रुपमै स्वायत्त गरी अधिकारको बाँडफाँड गरिएको सम्झाउँदै उहाँले सत्तारुढ गठबन्धनको प्रस्तावले संविधानको यो अवधारणालाई भत्काउने र मुलुकमा शासकीय अराजकता सिर्जना भै वर्तमान राजनीतिक ब्यवस्थामाथि गम्भीर धक्का पुग्ने खतरा औल्याउनुभएको छ ।

विकास बजेट अत्यन्तै कम खर्च भइरहेको वर्तमान अवस्थामा स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाएर, साधन, श्रोत र दक्ष जनशक्ति समेत थपेर जनताको सहभागितामा स्थानीय नेतृत्व मार्फत विकासका कामलाई तिब्रता दिई छिटो प्रतिफल निकाल्नु पर्नेमा सत्तारुढ गठबन्धन किन उल्टो बाटो हिंड्न खोज्दैछ ?, भट्टराईको प्रश्न छ ।

https://www.facebook.com/yogesh.bhattarai.754/posts/10222964935065275

Skip This