
जयराम बास्तोला (इमेज)
भक्तपुर, मंसिर १४ । भक्तपुर क्षेत्र नम्बर–१ प्रदेश ‘क’मा उपनिर्वाचनको मतदान सम्पन्न भएको छ ।
सो क्षेत्रमा रिक्त प्रदेशसभा सदस्य पदका लागि शनिबार मतदान भएको हो ।
कुल ४५ हजार १५ मतदाता रहेको यस प्रदेशमा कुल ३१ हजार ८३८ मतदाताले मतदान गरेका छन् ।
उपनिर्वाचनमा भक्तपुरमा कुल ७०.७२ प्रतिशत मत खसेको जनाइएको छ ।
प्रदेश ‘क’मा चाँगुनारायण नगरपालिकाका ९ ओटा वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर–१० पर्दछन् । २२ मतदानस्थलका र ५४ मतदान केन्द्रमा शनिबार मतदान भएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको जानकारी दिए ।
यहाँ १० स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
मतगणना आजै
मतदान सम्पन्न भएसँगै मतपेटिकाको मुचुल्का गरी मतपेटिकाहरु मतगणनास्थलमा पुर्याएको छ ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा शनिबार रातिदेखि नै मतगणना सुरु हुने प्रजिअ भट्टले बताए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख घमचन्द्र तिम्सिनाले मतगणनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
मतगणनास्थलमा मतपत्रको सुरक्षाका लागि तारजाली राखिएको बताउँदै उनले सीसी क्यामेरा जडानसहित सुरक्षा व्यवस्था मजबुद् पारिने बताए ।
प्रतिक्रिया दिनुहोस्