Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


पार्टीभित्रको घाउ–खटिराले दुःख दिइरहेको छ : माधवकुमार नेपाल


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका घाउ–खटिराले दुःख दिइरहेको बताउनुभएको छ । आफूलाई जनै खटिराले दुःख दिएको स्मरण गर्दै उहाँले पार्टीभित्र पनि विभिन्न घाउ–खटिरा आएको बताउनुभयो ।

पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले अब अपमान सहेर नबस्ने बताउनुभयो ।

‘आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन,’ उहाँले भन्नुभयो, ‘तर, अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन, नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ ।’

दास हुने मान्छे कम्युनिस्ट हुन नसक्ने भन्दै नेता नेपालले अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने बताउनुभयो । आफूहरु सबैलाई सम्मान गर्ने पक्षमा रहेको उहाँको भनाइ छ ।

कहिले स्याल हुइयाँ, कहिले बरन्डामा उफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको भन्दै उहाँले यस्तो प्रवृत्ति कम्युनिस्ट चरित्र नभएको स्पष्ट पार्नुभयो ।