३० असार २०८२, सोमबार | Tue Jul 15 2025


‘सर्वसाधारणको जीउधनको सुरक्षा राज्यको पहिलो दायित्व’ –गृहमन्त्री बालकृष्ण खाँण


0
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भीर भएर लाग्न निर्देशन दिनुभएको छ ।

शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण भ्रमण गर्दै मन्त्री खाँणले अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यसका लागि प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापन लगायतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री खाँणले विपद्मा काम गर्ने सरकारी संरचनाहरुबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् कुनै पनि बेला आउनसक्ने हुनाले सोही अनुरुपको तयारी अवस्थाका लागि सचेतनाका कार्यक्रमहरु बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गाउँ–गाउँबाट विपद्को जनकारी तुरुन्तै पाउने संयन्त्रको विकास गरी मानवीय क्षतिलाई बचाउनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय पानी नपर्ने हिमाली भूभागमा पानी पर्ने जस्ता विपद्का कल्पना नगरेका जोखिम देखिन थालेको हुँदा बहुआयामिक ढङ्गले अघि बढ्नुपर्ने मन्त्री खाँणले बताउनुभयो । उहाँले विपद्का विभिन्न पक्षका बारेमा अध्ययन हुनु आवश्यक रहेकोमा समेत जोड दिनुभयो ।