काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटन मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउने तयारी गरेपछि सुरक्षा घेरा पनि बलियो बनाइएको छ ।
सर्वोच्च अदालत परिसर र वरपरको क्षेत्रमा सुरक्षाकर्मीको बलियो उपस्थिति छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुलाई त्यस क्षेत्रमा खटाइएको हो ।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेका वर्तमान प्रधानमन्त्री ओली र विपक्षी दलका नेता शेरबहादुर देउवा दुबैको दावीलाई खारेज गर्दै राष्ट्रपति विद्या भण्डारीले ७ जेठको राती प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपनि देउवासहित उहाँलाई समर्थन गर्ने १४६ सांसदले सर्वोच्च रिट हालेका थिए ।
विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन १४६ सांसदले गरेको मागसम्बन्धि मुद्दामा अदालतले आज फैसला सुनाउने अपेक्षा गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले लामो बहश गर्दै आजका लागि पेशी तोकेको थियो ।
राणा नेतृत्वको इजलाशमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले मुद्दाको सुनुवाई गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्