एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । फाइनल खेल भोलि (आइतबार) बिहान पौने ६ बजे ब्राजिलको रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा हुनेछ ।
अर्जेन्टिनाका कप्तान लिओनल मेसीका लागि यो खेल आफ्नो देशका लागि उपाधिको खडेरी तोड्ने मौकाको रूपमा हेरिएको छ । ३४ वर्षीय मेसीले बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
६ पटकको बालोन डे ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि भने सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जितेका थिए । यो संस्करणको कोपा अमेरिका अर्जेन्टिनाको लागि मेसीको १० औं मुख्य प्रतियोगिता हो । उनी छैटौं पटक कोपा अमेरिका खेलिरहेका छन् भने चार पटक विश्वकप खेलिसकेका छन् ।
अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको छैन । यस पटक उसको अगाडि साविक विजेता ब्राजिल छ । कुनै समय बार्सिलोनका सहकर्मी रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य उपाधिको खोजीमा छन् । सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्