उपेन्द्र यादवलाई शर्माकाे पत्र, ‘कारबाही फिर्ता गरी पार्टी र प्रदेशसभा पद यथावत राखिपाउँ’ « Image Khabar


उपेन्द्र यादवलाई शर्माकाे पत्र, ‘कारबाही फिर्ता गरी पार्टी र प्रदेशसभा पद यथावत राखिपाउँ’


Imagekhabar
१८ असार २०७८, शुक्रबार १७:३५

बुटवल । लुम्बिनी सरकारी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिनुभएकी सुमन शर्मा रायमाझीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसमक्ष प्रदेशसभा पद यथावत् राख्नका लागि निवेदन दिनुभएको छ ।

शुक्रबार मन्त्री पदबाट राजीनामा दिनेबित्तिकै रायमाझीले पत्रमा पार्टी संसदीय दलको निर्णय बमोजिम लुम्बिनी प्रदेश सरकारको विरुद्धमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको स्मरण गराउँदै सन्तोषकुमार यादवले पार्टीको कामका गलफतमा पारी हस्ताक्षर लिएको उल्लेख गर्नुभएको छ ।

रायमाझीले पार्टीको निर्णय र संसदीय दलको निर्णय बमोजिम आफूमाथि भएको कारबाहीको जानकारी नपाएको बताउनुभएको छ । यस्तै उहाँले सर्वोच्च अदालतमा मुद्दामा सुनुवाइ भएर अल्पकालीन आदेश भएको रिट निवेदनसमेत फिर्ता लिन मञ्जुर भएको बताउँदै आगामी भविष्यमा पार्टीको निर्णय, ह्वीप तथा हकहित विपरीत कुनै कार्य नगर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

उहाँले आफूमाथि गरिएको कारबाही फिर्ता गरी पार्टी पद तथा प्रदेशसभा सदस्य पद समेत यथावत राखिदिनसमेत अनुरोध गर्नुभएको छ ।

लुम्बिनी प्रदेशमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ६ प्रदेशसभा सदस्यमध्ये ४ जना सरकारमा सहभागी भएका थिए । जसपाबाट सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सहभागी भएका थिए ।

सहभागी भएपश्चात पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्रालय, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रालय र रायमाझीले भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्