काठमाडौं । कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका निजी मेडिकल कलेज र अस्पतालहरुले संक्रमितको उपचारमा लागेको रकम भन्दै स्वास्थ्य मन्त्रालयसँग मनपरी क्लेम गरेका छन् ।
काठमाडौं मेडिकल कलेजले ३ दिन अस्पताल भर्ना भएको बिरामीलाई ४५ दिनसम्म उपचार गरेको भन्दै रकम दावी गरेको छ भने विराट मेडिकल कलेजले शुल्क लिएर उपचार गरेका बिरानमीलाई निशुल्क उपचार गरेको भन्दै रकम भुक्तानीको माग गरेको छ ।
यी अस्पतालहरुबाट आएको दाबीमा स्वास्थ्य मन्त्रालयले उपचार गरेर बिरामी र परिवारका सदस्यसँग क्रस चेक गरेको थियो । जसमा अस्पतालहरुले बिरामीसँग उपचार शुल्क असुलेर मनपरी क्लेम गरेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार विराट मेडिकल कलेजले पेइङमा बिरामी भर्ना गरेर मन्त्रालयमा निशुल्क उपचार सेवा दिएको भन्दै रकम माग गरेको छ ।
१० जना बिरामीको निशुल्क उपचार गरेको भन्दै भुक्तानीका लागि निवेदन दिएको छ । जब कि स्वास्थ्य मन्त्तालयले क्रस चेक गर्दा ती बिरामीबाट अस्पतालले ६४ लाख ५३ हजार रुपैयाँ उठाइसकेको छ ।
इन्दु कार्की नाम गरेकी बिरामीले विराट मेडिकल कलेजमा २५ दिन उपचार गराएकी थिइन् । आइसियूमा राखेर उपचार गरेबापत अस्पतालले उनीसँग २० लाख शुल्क उठाएको थियो । तर, स्वास्थ्य मन्त्रालयमा गरिएको दाबीमा कार्कीलाई ६ दिन आइसियूमा राखेर निःशुल्क उपचार गरिएको भन्दै रकम माग गरिएको छ । विराटले प्राप्त गर्नुपर्ने रकम भने निवेदनमा उल्लेख गरेको छैन ।
काठमाडौं मेडिकल कलेज (केएमसी)ले त झन् धेरै ज्यादती नै गरेको छ । शुल्क लिएर उपचार गरेका बिरामीको सूची पेस गर्ने मात्रै होइन, तीन दिन अस्पताल बसेको बिरामी ४५ दिन बसेको भन्दै रकम दाबी गरेको छ । मन्त्रालयले गरेको ‘क्रस चेक’मा बिरामी र आफन्त अस्पताल बसेको दिन सुनेर चकित परेका छन् ।
केएमसीले पेस गरेको विवरणमा मनीष महर्जनको ४५ दिन अस्पतालमा राखेर उपचार गरिएको दाबी गरिएको छ । जब कि मन्त्रालयले परिवारसँग बुझ्दा उनी तीन दिन मात्रै अस्पताल भर्ना भएका थिए । त्यसबापत उनले ६५ हजार उपचार शुल्क तिरेका थिए ।










प्रतिक्रिया दिनुहोस्