Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सेन्ट जेभियर्ससहित २० विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रले सोध्यो स्पष्टीकरण


0
Shares

काठमाडौं । कमिसनको चक्करमा अनावश्यक नयाँ किताब किन्न लगाइ अभिभवाकलाई आर्थिक भार र विद्यार्थीलाई मानसिक तनाब दिने निजी विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेको छ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले सेन्टमेरिज, सेन्टजेभियरलगाएतका २० निजी विद्यालयहरुका प्रधानाध्यापकहरुलाई स्पष्टीकरण सोधेको जनाएका छन्। भट्टराईले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी अभिभावकलाई थरिथरिका प्रकाशकको जथाभावी किताब किन्न लगाएकोले भन्दै स्कुलका प्रधानाध्यापकहरुलाई स्पष्टीकरण सोधिएको उल्लेख गरेका छन्।

‘अनुगमनको क्रममा कतिपय विद्यालयहरुले कक्षा २, ३ र कक्षा ६ मा स्वीकृत नयाँ पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक तथा पाठ्य सामग्रीको साटो पुरानो पाठ्यक्रम अनुसारकै पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरु प्रयोग गर्ने गरी विद्यार्थीलाई सूची उपलब्ध गराइएको पाइएको छ,’ भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ। ‘सन्दर्भ सामग्री भनी अनावश्यक संख्यामा पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरु खरिद गर्न अभिभावकलाई बाध्या पारेको देखिएको छ। जानकारीमा आएका त्यस्ता विद्यालयका प्रधानाध्यापकहरुलाई स्पष्टीकरण माग गरिसकिएको छ।’ थप लेखिएको छ, ‘तसर्थ नेपाल सरकारको स्वीकृत पाठ्यक्रमभन्दा बाहिरका तथा पुरानो पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरु प्रयोग नगर्न नगराउन समेत सूचित गरिएको छ।’

नागरिक