ज्येष्ठ नागरिकलाई दोस्रो डोज देऊ : सर्वोच्च « Image Khabar


ज्येष्ठ नागरिकलाई दोस्रो डोज देऊ : सर्वोच्च


Imagekhabar
९ असार २०७८, बुधबार ०६:५४

काठमाडौं । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोजको खोप दिन अन्तरिम आदेश जारी गरेको छ ।

गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भइरहेको भन्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले यथाशीघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म दोस्रो डोज लगाउन सकिने सिफारिस गरेको छ । तर नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेको छ ।

ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।

उक्त रिटमा सुनवाइ गर्दै हिजो सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो।

भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपालले थप मात्रा ल्याउन नसक्दा पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।

नेपालले १० लाख डोजको लागि अग्रिम भुक्तानी गरिसकेको भएपनि भारतले खोप दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्