Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


एमाले दशौँ महाधिवेशन आयोजक कमिटी विवाद : पुनरावलोकनका लागि ओली पुगे सर्वोच्च


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले गत २७ जेठमा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई वैधता दिन नसकिने गरी दिएको अन्तरिम आदेशमा एमाले अध्यक्ष केपी ओलीले पुनरावेदन निवेदन ९भ्याकेट० दर्ता गराएका छन् । सर्वोच्चले दशौँ राष्ट्रिय आयोजक कमिटी नेकपा एमालेको पार्टीको आधिकारिक संरचना नभएको भन्दै कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको थियो । एमालेको अध्यक्षका हैसियतमा ओली स्वयंले पार्टीका तर्फबाट आइतबार दायर गरेको निवेदनमा महाधिवेशन आयोजक कमिटी आधिकारिक रहेको दाबी गरेका छन् ।

बार एसोसिएसनका उपाध्यक्षसमेत रहेका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले आइतबार एमाले अध्यक्ष ओलीले पार्टीका तर्फबाट केन्द्रीय समिति नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण भएको जिकिरसहित सर्वोच्चको आदेश बदरको माग गर्दै निवेदन दर्ता गराएको बताए । निवेदनमा कर्णाली प्रदेशका चारजना सांसदको पद रिक्त किन गरियो भन्ने कारण उल्लेख गर्दै दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी आधिकारिक भएको दाबी पेस गरिएको अधिवक्ता भट्टराईले जानकारी दिए ।

‘कर्णाली प्रदेशका चारजना सांसदहरूले त्यहाँको संसदीय दलको निर्णयविपरीत ‘फ्लोर क्रस’ गरेर ह्विप उल्लंघन गरेको हुनाले संविधान र राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार उनीहरूको पद रिक्त गरिएको हो भन्ने विषयलाई निवेदनमा उल्लेख गरिएको छ,’ अधिवक्ता भट्टराईले भने ।

साथै एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भनेको पार्टीको केन्द्रीय समिति नै भएको दाबी गरिएको बताए । ‘पार्टीको केन्द्रीय समितिले नै तत्काल महाधिवेशन गर्नुपर्ने भएको कारण महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरिएको हो । केन्द्रीय समितिले गर्ने सबै कार्य गर्न पाउने गरी केन्द्रीय समितिले नै त्यसलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको हुँदा यसले गरेको निर्णयका आधारमा कारबाही गरेको मिलेन भन्ने सर्वोच्च अदालतको आदेश गलत भएकाले खारेज हुनुपर्छ भन्ने माग निवेदनमा गरिएको छ,’ उनले भने ।

सर्वोच्च अदालतले गत २३ फागुनमा एकीकृत पार्टी नेकपाको एकीकरणलाई अवैध भएको फैसला गरेपछि ओलीले एकलौटी ढंगले एमालेका बैठकहरू राखेर विभिन्न निर्णय गरेका थिए । जसमा २८ फागुनमा पार्टीमा केन्द्रीय सदस्य थप र माओवादी केन्द्रबाट आएका २३ जनालाई जिम्मेवारी दिने निर्णय गरेका थिए । त्यसपछि ७ चैतमा बसेको सोही केन्द्रीय कमिटीको बैठकले गरेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरेर दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको थियो ।

नयाँ पत्रिका