बाढीले दोलालघाटका ११ घर डुबानमा « Imagekhabar – Online News Portal of Nepal


बाढीले दोलालघाटका ११ घर डुबानमा


0
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो ।

घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्यत्र सारिएको छ ।

नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि दुई÷तीन दिनदेखि यहाँका मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधबार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित सुदर्शन रायले बताउनुभयो ।

नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको छ ।

डुबानबाट त्यहाँका विन्दा श्रेष्ठ, नानीबाबु मिजार, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, सुवास राय, रामप्यारी गिरी, दिलीप श्रेष्ठ, सुदर्शन राय, लोकदर्शन राय र श्याम बस्नेतलगायत त्यहाँका ११ घरपरिवार सो ठाउँबाट अन्यत्र सरेका छन् ।

त्यससँगै नदीबाट दोलालघाट पुरानो बजार क्षेत्रमा टहरा बनाएर बस्दै आएका माझी समुदायको टहरासमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवरले बताउनुभयो ।