बिपी प्रतिष्ठानका चिकित्सक सडकमा « Image Khabar


बिपी प्रतिष्ठानका चिकित्सक सडकमा


Imagekhabar
२ असार २०७८, बुधबार १७:४०

सुनसरी, असार २ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

प्रतिष्ठानमा भएको भ्रष्ट्रचार र बेथिति सुधारको माग राख्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएको हुन ।

मुसलधारे पानीका बीच छाता ओढेर उनीहरुले विरोध र्‍याली निकालेका छन् ।

प्रतिष्ठानको फ्याकल्टी वेलफेयर सोसाइटीको अगुवाइमा चिकित्सकहरुले मंगलवारदेखि दैनिक आन्दोलन गरिरहेका छन् ।

प्रतिष्ठानमा औषधि उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीहरुले आर्थिक अनियमितता गरेको भन्दै सत्य तथ्य छानविन गरी दोषीउपर कडा कारवाही गर्न चिकित्सकहरुले माग गरेका छन् ।

प्रतिष्ठानको हाडजोर्नी विशेषज्ञ तथा फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डाक्टर विष्णु पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग प्रतिष्ठानमा भएको भ्रष्ट्रचारको छानविन गर्न माग गर्नुभएको थियो ।

आयोगले प्रतिष्ठानमा भएको खरिदसम्बन्धि कागजपत्र नियन्त्रणमा लिएर छानविन थालेको छ ।

छानविन थालेपछि प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले डा. पोखरेललाई कारवाही गर्ने धम्कीसहितको स्पष्टिकरण सोधेपछि मंगलवारदेखि चिकित्सकहरुले आन्दोलन चर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस्