
काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्णरुपमा क्रियाशील रहेको बताएका छन् ।
उनले भने–‘हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौं । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौं ।’
नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले शनिबार राजधानीमा संयुक्तरुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले नेकपाको सरकार गठन भएको पाँच महिनामात्रै भएको भएपनि यही अवधिमा नै सबै बिगारेको जसरी प्रचार गरिएकामा आपत्ति प्रकट गरे ।
‘हाम्रो सरकार गठन भएको पाँच महिना भयो । भ्रष्टाचार बढेको, सुशासन नभएको, काठमाडौंका सडकमा खाल्डा यही सरकारले पारेको भनेजसरी प्रचार भएको छ । विगतमा मुलुकलाई लुटपाट गर्नेले नै कोकोहोलो मच्चाएका छन्’–प्रधानमन्त्रीले भने–‘यही पाँच महिनामा नेपाली जनतालाई हामीले गरिब बनाएको होइन । काठमाडौंको सडकमा खाल्डो पारेको पनि होइन । तर, हामी गरिब नेपालीलाई समृद्ध बनाउँछौं र आगामी दुई वर्षभित्र काठमाडौंका सबै सडक हेर्न लायक बनाउँछौं ।’
उनले नेपालको पुरानो कलात्मकता, ऐतिहासिक धरोहरलाई जोगाएर आधुनिकता मिसाएर अगाडि बढाउने दृढता व्यक्त गर्दै धरहरा, रानीपोखरी, काष्ठमन्डपलगायत सम्पदाको पुनःनिर्माण सुरु गरिने बताए ।
‘मै बनाउँछु मेरो धरहरा’ भनेर आफूले दुई वर्षपहिले सुरु गरेको अभियान जहाँ छोडेको त्यस्तै अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले भने–‘अब शीघ्र धरहराको पुनःनिर्माण हुन्छ । धाँजा फाटेको रानीपोखरीसमेत बन्छ ।’
शिलान्याश गरेर छाडेको धरहरा र रानीपोखरी पुनःनिर्माणमा सरकारले क्रमिकरुपमा काम सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भने–‘अब बन्छन्, यी दुईओटै ऐतिहासिक सम्पदा । कुनै ढिलाइ गरिँदैन । काष्ठमन्डप ज्यूँका त्यूँ हुन्छ ।’
दुगर्मस्थानमा रहेका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्ने भन्दै प्रधानमन्त्रीले सेवा–सुविधा पुर्याउनै नसकिने ठाउँलाई एकीकृत बस्तीकारुपमा परिणत गर्ने सोचमा सरकार रहेको स्पस्ट पारे ।
अनुगमन र नियन्त्रण गर्न केही समय लाग्ने भएपनि अनावश्यकरुपमा सरकारको आलोचना गरेर कोकोहोलो मच्चाइएको भन्दै प्रधानमन्त्रीले आपत्ति प्रकट गरे ।
प्रधानमन्त्रीले नेपालमा भित्र्याइने रकम बैंकिङ प्रणालीबाटमात्रै आउनुपर्नेमा जोड दिँदै गैरकानुनी तवरले कुनैपनि रकम ल्याउन नदिइने बताए ।
उनले भने–‘हुन्डी, कालोधन, गैरकानुनी चलखेल गर्न पाइँदैन । सरकार त्यस्तो गतिविधिलाई सहँदैन । अनियन्त्रित, गैरकानुनी कालोधन गुप्त बाटोबाट नेपालमा आउन पाउँदैन ।’
उनले भ्रष्टाचार गर्न नपाइने र नदिइने उल्लेख गर्दै भने–‘भ्रष्टाचार नियन्त्रण हुन्छ । भ्रष्टचारीलाई दमन हुन्छ । यो हाम्रो घोषित नीति हो ।’
माइतीघरमन्डलालाई विरोध प्रदर्शनस्थल बनाइएकामासमेत प्रधानमन्त्रीले आपत्ति प्रकट गरे ।
उनले भने–‘माइतीघरमा सातओटा बाटा छन् । दुर्घटना हुनसक्छ । सडक जाम हुन्छ । यसो अवसर पारेर दीप प्रज्ज्वलन गर्नेसम्मको काम गर्न सकिन्छ । तर, त्यस्तो स्थानमा नै किन विरोध गर्नुपर्यो ? संसारभर नै विरोधका लागि स्थान तोकिएको हुन्छ । नेपालमात्रै त्यस्तो देश जहाँ–जसले पनि जुनसुकै स्थानमा विरोध गर्न पाइन्छ !’
उनले कृषिमा व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने दृढता व्यक्त गरे ।
नेपालमा जुनसुकै क्षेत्रमा पनि एकाधिकार रहेको भन्दै प्रधानमन्त्रीले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य भएको र अरु क्षेत्रमा रहेको एकाधिकारसमेत छिट्टै अन्त्य हुने उल्लेख गरे ।
उनले एकाधिकार हटेपनि त्यसलाई व्यवस्थापन गर्न केही समय लाने भन्दै त्यसका लागि सरकारले सबै प्रकारका विकल्पलाई खुला राखेर काम गरिरहेको स्पस्ट पारे ।
नेपालको मजदुर आन्दोलनले विगतदेखि नै सफलता हासिल गर्दै आएको भन्दै प्रधानमन्त्रीले सरकार सधैं मजदुरको पक्षमा रहेको र कोहीपनि मजदुर निराश हुनु नपर्ने गरी कार्यक्रम र योजना ल्याइने बताए ।
मजदुर आन्दोलनको सफलताबाटै वर्तमान सरकार गठन भएको भन्दै उनले स्वदेशमा पनि सरकारको नीतिभित्र रहेर मजदुरलाई सेवा–सुविधा उपलब्ध गराउनुपर्ने र विदेशमासमेत ठगी र गलत धन्दा गर्न/गराउन नपाइने स्पस्ट पारे ।
राष्ट्र निर्माणको महाअभियान सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने–‘अब नेपाल गरिब रहन सक्दैन । कामको खोजीमा भौतारिएर हिँड्नुपर्दैन । मुलुकमा नै स्तरीय कामको व्यवस्था हुन्छ ।’
तुइन विस्थापित भयो
कार्यक्रममा प्रधानमन्त्रीले देशभरबाटै १०५ ओटा तुइन विस्थापित भएर झोलुंगेपुल बनेको जानकारी दिए । आफ्नो पहिलो कार्यकालमा घोषणा गरेको कार्यक्रम अहिले आएर साकार भएकामा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।
कलिला बालबालिका घिर्नीमा हात परेर रगतै भएर हिँड्नुपरेको, तुइनबाट खस्ने अवस्थाकोसमेत अन्त्य भएको जानकारी दिँदै उनले केही समयभित्रै अन्य स्थानकासमेत तुइन विस्थापन गरी झोलुंगेपुल निर्माण सम्पन्न हुने बताए ।
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिस्ट एकता विश्व समुदायका लागिसमेत चर्चा र चासोको विषय भएको बताए ।
उनले विवादलाई सहमतिमा रुपान्तरण गर्ने, जिम्मेवारी लिन र त्याग गर्नसमेत तयार भएर एकतालाई सार्थक बनाउनसमेत कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठलगायतको उपस्थिति थियो । रासस
प्रतिक्रिया दिनुहोस्