Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


वित्तीय क्षेत्रको सुशासनका लागि राष्ट्र बैंक ऐन संशोधन गर्न आवश्यक: अर्थ सचिव उपाध्याय


0
Shares

काठमाडाैं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मुलुकको समग्र आर्थिक सुधारका लागि वित्तीय क्षेत्रको सुशासन र सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको शुक्रबार बसेको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । सचिव उपाध्यायले २०५८ सालयता मुलुकले अपनाएको नवीन शासकीय ढाँचा र सूचना प्रविधिको क्षेत्रमा भएको विकासले ल्याएका अवसर तथा चुनौतीहरूलाई सम्बोधन गर्न ऐन संशोधन आवश्यक भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकलाई एक सशक्त र प्रभावकारी नियमकीय निकायका रूपमा अघि बढाउन विद्यमान कानूनी व्यवस्थामा थप स्पष्टता र नवीन प्रावधानहरू समावेश गर्नुपर्ने आवश्यकता रहेकाे बताउनुभएकाे छ । बैठकमा सांसदहरूले प्रश्तुत गरेका संशोधन प्रश्ताव र उठाएका जिज्ञासाहरूमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले आगामी छलफलहरूमा थप प्रष्ट पार्ने प्रतिवद्धता समेत अर्थ सचिव उपाध्यायले जनाउनुभयो ।