प्रेमीसँग तीन वर्षदेखि योजना बनाएर श्रीमानकाे हत्या, ११ जना पक्राउ « Image Khabar


प्रेमीसँग तीन वर्षदेखि योजना बनाएर श्रीमानकाे हत्या, ११ जना पक्राउ


दिलिप कुमार यादव
३१ जेष्ठ २०७८, सोमबार १७:३२

दिलिप कुमार यादव
कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दिपक पाण्डेयको हत्यामा संलग्न ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक पाण्डेकी श्रीमती महिमा पाण्डेयसमेत छिन् ।

मृतककी श्रीमती पाण्डेय र ओमप्रकाश यादवबीच विगत तीन वर्षदेखि अनैतिक सम्बन्धमा रहेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने योजना बनाएको पनि अनुसन्धानबाट खुलेको छ ।

योजना अनुसार नै यादवले विभिन्न समयमा विभिन्न व्यक्तिलाई दिपक पाण्डेयलाई मार्न सुपारी समेत दिएका थिए । जेठ ५ गते दिपक पाण्डेयको गोली हानी घाइते बनाए पछि पाण्डेयको उपचारको क्रममा जेठ १० गते मृत्यू भएको थियो । हत्याको मुख्य योजनाकार मृतक पाण्डेयको श्रीमती महिमा पाण्डेय र ओमप्रकाश यादव रहेको अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न रमजान साह मुसालमान, साकिर अलि पाखिया, पुर्णविर पाल्पाली कुम्हाल, सद्धाम हुसेन, ज्ञानेन्द्र कुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम चौधरी, नसरत अलि र प्रविण गुप्तालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सर्वजनिक गरेको छ । घटनामा संलग्न हातहतियारसहित पक्राउ परेका र उक्त हातहतियार खरिद बिक्री, ओसारपसार कार्यमा संलग्न सम्पूर्णलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम कपिलवस्तु जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मुख्य योजनाकार यादवबाट पेस्तोल थान–१ म्याग्जिन थान–१, २२ म्याग्नमको गोली ६८ राउण्ड, रमजान साह मुसलमानबाट स्वचालित पेस्तोल थान–१ को म्याग्जिन थान–१ र गोली ८ राउण्ड र गोली हान्ने व्यक्ति साकिर अलि पाखियाबाट एक थान नल कटुवा पेस्तोल र २ राउण्ड गोली बरामद भएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दिपक पाण्डेयलाई जेष्ठ ५ गते राति ११ बजेको समयमा कपिलवस्तु नगरपालिका वडा नं. ६ गोबरी स्थित चार नम्बर तौलिहवा सडक खण्डमा गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते भएका उनको उपचारका लागि काठमाण्डौ पठाइएको थियो । जेष्ठ १० गते काठमाडौंमा नै पाण्डेयको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्