Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


बैतडीमा जेष्ठ नागरिकलाई आजदेखि `भेरोसेल` खोप लगाइने


0
Shares

विनोद सिंह विष्ट

बैतडी । बैतडीमा जेष्ठ नागरिकलाई खोप लगाउने अभियान आजदेखि सुरु हुदैंछ । । देशभर जेठ २५ गतेदेखि उक्त अभियान सञ्चालनमा आएको भएपनि बैतडीमा भने आजदेखि सञ्चालनमा आउन लागेको हो ।

सरकारले जेठ २५ गतदेखि ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउन भनेपनि बैतडीमा भने आजदेखि खोप अभियान सुरु हुने भएको हो ।

सुरुमा ६० देखि ६४ बर्षका नागरिकलाई खोप दिने भनिएकोमा पछि संशोधन भएर ६२ देखि ६४ बर्षका नागरिकलाई खोप दिने भनेकाले खोप अभियान सुरु गर्न केही ढिलाई भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“पहिला ६० देखि ६४ भनेकोमा अहिले ६२ देखि ६४ भनेकाले सबैठाउँमा सूचना प्रवाह गर्नका लागि केही ढिला सुरु गर्ने गरेका हौं” ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा जेठ २८ गते आज खोप लगाइनेछ भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जेठ ३० गते खोप लगाइनेछ ।

यस्तै पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा असार १ गते खोप लगाइने जनाइएको छ ।

उक्त अभियानका लागि जिल्लाका प्रत्येक वडाका स्वास्थ्यचौकीमा खोप केन्द्र तोकिएका स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।

बैतडीमा ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिक करीब ३ हजार ५ सय जना रहेका अनुमान गरिएको छ । जिल्लामा अहिले ३ हजार ७८० डोज खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिला कोभिशिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई दोश्रो डोज नभएकाले अहिले भेरोसेल खोप लगाउँदा भने दोश्रो डोज मौज्दात राखेर मात्रै खोप दिइने भएको छ ।

खोप लगाउन आउँदा आफ्नो उमेर खुल्ने प्रमाणपत्र साथमा लिएर आउन हुन समेत आग्रह गरिएको छ ।