फैसलालाई लिएर इजलाशमा प्रश्न नउठाउन प्रधानन्यायाधीश राणाको आग्रह, नेकपा फुटाउने मुद्दाले कसरी सरोकार राख्छ ? • Image Khabar Image Khabar


फैसलालाई लिएर इजलाशमा प्रश्न नउठाउन प्रधानन्यायाधीश राणाको आग्रह, नेकपा फुटाउने मुद्दाले कसरी सरोकार राख्छ ?


Imagekhabar
१६ जेष्ठ २०७८, आईतवार १२:५२

suprem court bahas

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि प्रधानन्यायाधीश र कानुन व्यवसायीहरुबीच बहसका क्रममा सवाल जवाफ भएको छ ।

आइतबार सुनुवाई शुरु भएलगत्तै कानुन व्यवसायीहरुले इजलाशमा रहेका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बचाउ गर्नुभएको हो ।

कानुन व्यवसायीहरुले नेकपा फुटाउने मुद्दाको फैसला गरेका न्यायाधीश श्रेष्ठ र उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन खारेज गरेका न्यायाधीश केसी यो मुद्दाको सुनुवाईमा पनि बस्दा स्वार्थ बाझिने भन्दै प्रश्न उठाएका थिए ।

तर, प्रधानन्यायाधीश राणाले मुद्दाको फैसला र त्यसका परिणामबारे यो मुद्दासँग जोडेर विषय नउठाउन आग्रह गर्नुभयो । प्रधानन्यायाधीश राणाले नेकपा फुटाउने फैसलाले संसद् विघटनसम्बन्धी मुद्दामा चासो राख्छ कि राख्दैन ? भनेर कानुन व्यवसायीहरुसँग प्रश्नसमेत गर्नुभएको छ ।

बहसको शुरुमै अधिवक्ता गोविन्द वन्दीले न्यायाधीश श्रेष्ठ र केसीका बारेमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले फैसला हेरेर न्यायाधीश बेठिक भन्ने अधिकार नभएको जवाफ दिनुभयो ।

अधिवक्ता बन्दीले आफूले यसलाई जिरह नगर्ने तर त्यस्तो फैसला गर्ने व्यक्ति संवैधानिक इजलासमा बस्दा अदालतको गरिमा बढ्छ कि बढ्दैन ? भन्ने प्रश्न गर्नुभयो ।

त्यसैगरी, वरिष्ठ अधिवक्ता महादेव यादवले पनि न्यायाधीशद्वयको सहभागिताका बारेमा प्रश्न उठाउँदै दुबै जना इजलाशमा बस्न नहुने जिकीर गर्नुभयो ।

लगत्तै बहस गर्नुभएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई प्रधानन्यायाधीश राणाले, ‘नेकपा फुटाउने मुद्दाले यसमा प्रत्यक्ष सरोकार राख्छ कि राख्दैन ?’ भन्दै प्रश्न गर्नुभयो ।

जवाफमा कार्कीले भोलि यो फैसला पुरानो फागुन २३ को फैसलाजस्तै भयो भने बाहिरबाट अदालतमाथि प्रश्न उठ्न सक्ने भएकाले अहिले नै विचार गर्दा राम्रो होला भन्ने जवाफ दिनुभयो ।

कार्कीले अघिल्लोपटक संसद् विघटनसम्बन्धी मुद्दामा सहभागी न्यायाधीश केसीको पुनः सहभागिता सम्बन्धमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले भन्नुभयो, ‘संवैधानिक इजलासमा त म पनि छु, मलाई वायस नगरौँ । यो बारको अधिकार हो । मलाई मोरल दायित्व पर्दैन र ?’
कार्कीको भनाइ थियो, ‘यो सम्माननीयको व्यक्तिगत विचार हो ।’

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका साथमा न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ । उक्त इजलाशमा ३० वटा रिट निवेदनमाथि सुनुवाइ भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्