
काठमाडौं, साउन ११ । राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा एपीएफले रौतहटलाई ७–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
एपिएफको यो लगातार दोस्रो जित हो । यसअघि, पहिलो खेलमा एपीएफले काठमाडौंलाई पराजित गरेको थियो ।
एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले ४ गोल गरिन भने सरु लिम्बूले २ तथा अनिता बस्नेतले १ गोल थपे । सावित्रा खेलको ‘वमन अफ दी म्याच’ घोषित भइन् ।
सोही मैदानमा शुक्रबारै भएको दोस्रो खेलमा आर्मीले काठमाडौंलाई ८–० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई १–० ले गोलअन्तरले पराजित गरेको थियो ।
आर्मीको जितमा दीपा राईले ह्याट्रिक गरिन् भने कृष्णा बस्नेतलले २ गोल थपिन् । त्यस्तै, विमला विक, इन्दिरा राई र कविता धिमालले समान १/१ गोल गरे । रासस
प्रतिक्रिया दिनुहोस्