भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता • Image Khabar Image Khabar


भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता


नरेन्द्र थापा
१४ जेष्ठ २०७८, शुक्रबार १६:५७

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

नरेन्द्र थापा

नेपालगन्ज, जेष्ठ १४ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार घटनाका मुख्य दोषी मानबहादुर रावतसहित तीन जनाबिरुद्ध ज्यानमार्ने मुद्दा दर्ता गरिएको हो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफलमा दोषीलाई कारवाही गर्ने सहमति भएपछि स्वास्थ्यकर्मीहरु काममा पनि फर्केका छन् । यसअघि, आफ्ना सहकर्मीमाथि हातपात र कुटपिट भएपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए ।

गएराति दाङका एक जना कोरोना संक्रमित विरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टर र नर्सलाई आक्रमण गरेको विरोधमा स्वास्थ्यकर्मीहरु काम छाडेर दोषीमाथि तत्काल कारवाहीको माग गर्दै अस्पताल परिसरमा प्रदर्शन उत्रिएका थिए ।

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

अस्पतालका अनुसार विरामीको मृत्युपछि उनका कुरुवा र आफन्तले आइसियु कक्षमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । स्वास्थ्यकर्मीले शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाउनु परेको थियो ।

आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर भागेका थिए । उनीहरुले आइसियु कक्षमा तोडफोड समेत गरेका थिए ।

घटनाबारे सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

यता, नेपाल चिकित्सक संघले पनि भेरी अस्पतालमा बिहीबार राती भएको घटनालाई कालो दिनको रुपमा घोषणा गर्दै सबै फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न अपिल गरेको थियो ।

कोरोना महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सिमित स्रोत, साधन र जनशक्तिका बाबजुद पनि अग्रपंक्तिमा रहेर उपचारमा खटिरहेको अवस्थामा पनि उनीहरु माथि दुुर्व्यवहार र कुटपिट जस्ता अवान्छित क्रियाकलापहरुले असुरक्षित वातावरण बनाएको भन्दै संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

संघले भेरी अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुन अनुसार कारबाही गर्न माग पनि गरेको छ ।

अस्पतालले पनि बिहीबार राती भएको घटनाका विषयमा सार्वजनिक जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्