
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी ९जसपा० विभाजनको चरणमा प्रवेश गरेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक–अर्कालाई स्पष्टीकरणपत्र पठाउँदै कारबाहीको तयारी गरेपछि जसपाको संकट विभाजनउन्मुख बनेको हो ।
्मंगलबार संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई कारबाहीको चेतावनीसहित स्पष्टीकरणपत्र पठायो । त्यसको केही घन्टा नबित्दै ठाकुरले पनि यादवलाई स्पष्टीकरण पत्र पठाएका छन् । दुवै पक्षले एक–अर्कालाई तीन दिनको समयावधि दिएर स्पष्टीकरण सोधेका छन् ।
जसपाको केन्द्रमा जारी विवाद बुधबारसम्म तल्लो तहसम्म पुगिसकेको छ । प्रदेश २ मा कार्यकर्ताले एक–अर्को पक्षका नेताहरूको पुत्ला दहन गरेका छन् । यससँगै एकताका लागि प्रयासरत जसपाको दोस्रो तहका नेताहरूसमेत विभाजनलाई रोक्न नसकिने निष्कर्षमा पुगेका छन् ।
अध्यक्ष ठाकुर पक्षका नेता मनीष सुमनले पार्टी एकता कायम रहने सम्भावना लगभग सकिँदै गएको बताए । ‘पार्टी एकता कायम रहने सम्भावना लगभग टाढिँदै गएको छ । आफू–आफू मात्रै बसेर निर्णय गरेर फरक–फरक बाटो हिँड्न थालेपछि समस्या उत्पन्न भएको छ,’ नेता सुमनले भने, ‘तैपनि कार्यकर्ता र शुभचिन्तकको चाहना भने पार्टी एक बनाउनुपर्छ भन्ने नै छ ।’ उनले सोधिएका स्पष्टीकरण फिर्ता भए पुनः पार्टी एकीकरणको प्रस्थानबिन्दु हुन सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्