Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


मानवता हराएका घरधनीः कोरोना भएको भन्दै कोठामा पस्न दिएनन्


0
Shares

काठमाडौं । गुराँस गाउँपालिका–७, लालीकाँडा दैलेखका देवकुमार विसीको परिवार १५ वर्षदेखि सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएको छ। एक गैरसरकारी संस्थामा कार्यरत उनी पछिल्ला केही वर्षदेखि गुराँस गाउँपालिकामा कार्यरत सब–इन्जिनियर उदयराज जैसीको वीरेन्द्रनगर–१० स्थित बौद्धिक टोलको घरमा बस्दै आएका छन्।

दोस्रो लहरको कोरोना संक्रमणका कारण देवकुमारकी ४० वर्षीया श्रीमती हिरा कोरोना संक्रमित भइन्। हिरालाई वैशाख २४ कर्णाली प्रदेश अस्पतालमा भर्ना गरियो। उपचारकै क्रममा उनको २८ गते मृत्यु भयो। घरधनीले कोरोना संक्रमण भएदेखिनै निस्कन दवाव दिइरहेका थिए। यस्तोमा मृत्यु संस्कार कोठामा बसेर गर्न दिने कुरो भएन। देवकुमारले श्रीमतीको काजकिरीया ससुरालीमा गर्नुपर्‍यो।

मंगलबार उनी कोठा खाली गर्ने तयारी गर्दै थिए। त्यसका लागि केही आफन्तलाई सामान सार्न पठाएका पनि थिए। घरधनी जैसीले ढोकामा उभिन पनि दिएनन्। ‘श्रीमती विरामी भएर अस्पताल लैजाँदा म र छोराछोरी एकसरो कपडामा कोठाबाट निस्केका थियौं,’ देवराजले भने, ‘यस्तो संकटको बेला पनि उहाँ ९घरधनी०ले कोठाभित्र पस्न दिनु भएन।’

नागरिक