Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


कोभिडले ग्रामीण जीवन प्रभावित : ज्येष्ठ नागरिक भन्छन्, ‘जेलमा बसेझैँ भयो’


0
Shares

ध्रुवसागर शर्मा
म्याग्दी । गाउँले जीवनको मौलिकता भनेकै अर्म–पर्म, सर–सापटी, अ‍ैचो–पैंचो र श्रमदान हो ।

प्रत्यक्ष रूपमा भेटेर सुःख दुःखका कुरा गर्ने, साह्रो–गाह्रो पर्दा सरसहयोग गर्ने, गुन्द्रीमा बसेर गफिँदै चिया पिउने, जाडोमा घाम ताप्दै, गर्मीमा चौतारीमा बसेर कुराकानी हुने ग्रामीण जीवनको विशेषता हराउँदै जाँदा ज्येष्ठ नागरिकहरू चिन्तित भएका छन् ।

बुढेसकालमा प्रवेश गर्दा पहिलो पटक भोग्नु परेको यो अवस्थाले बुढापाकाहरूलाई जेलमा बसेझैँको भान गराएको वृद्ध खडगबहादुर थापा बताउनुहुन्छ ।

आफ्नै सुरक्षाका लागि सम्पर्कविहीन हुनुपर्ने अहिलेको नियतिले ज्यामरुककोटका हरि घिमिरेलाई दिक्क बनाएको छ । दैनिक रूपमा घरमा बसेर बाँधिनु पर्दा पट्यार त लागेको छ नै यसले गर्दा आर्थिक नोक्सानी समेत पु¥याएको छ । तर, यो बाहेक सुरक्षित रहने अर्को उपाय नभएपछि घरमै बस्नु पर्ने बाध्यता उनलाई छ ।

यतिबेला खेतबारीमा हरियाली छाएको छ । जोस र जाँगर बढ्दासमेत उनीहरू खेतबारीमा काम गर्न जान पाएका छैनन् । मकै गोड्ने मध्य समय भएकाले खेतमा फाट्ट–फुट्ट मात्र काम गर्ने मान्छे देखिन्छ । निषेधाज्ञाले गर्दा खेतीपातीको काम गर्न समस्या भएको र दुईचार जनामात्र जुटेर सुरक्षा सावधानी अपनाउँदै काम गर्नुपर्दा असजिलो हुने गरेको बगरफाँटकी कमला घिमिरे बताउनुहुन्छ ।

अहिले म्याग्दीका ६ वटै स्थानीय तहहरूमा कोरोना सङ्क्रमण फैलिँदै गएको छ । गण्डकी प्रदेशमै प्रभावित बनेको म्याग्दीको एउटै वस्तीमा ३५ जना भन्दा बढी सङ्क्रमित भेटिए पछि स्थिति भयावह बन्दै गएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ ।

वैशाखमा मात्रै म्याग्दीका २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । आफ्नै गाउँटोल विरानो भएपछि निसास्सिएका ग्रामीण भेगका नागरिक कोरोना संक्रमणको अन्त्यको कामना गर्दै सहज समयको प्रतिक्षामा छन् ।