कोभिड संक्रमित आमाको अनुभव : छोराले ‘मम्मा म हजुर सँग सुतौं ?’ भन्दा भक्कानिन्थेँ « Image Khabar


कोभिड संक्रमित आमाको अनुभव : छोराले ‘मम्मा म हजुर सँग सुतौं ?’ भन्दा भक्कानिन्थेँ



रिता घिमिरे
अक्सिजनको लेवल घटेर ८५ प्रतिशतमा झरेछ ।
घर परिवारको होस उडयो ।

सामाजिक सन्जाल र विज्ञ साथीहरुको सल्लाहअनुसार घोप्टो परेर सिरानी माथि सुतेँ । करिब ४५ मिनेट पछि अक्सिजन लेवल ९१, ९२ प्रतिशतमा फर्कियो । अनि अर्ध निद्रामा रात बिताए ।

रातदिन मेरो सेवामा खटिनुभएको मेरो श्रीमान् र सासुआमाको पनि ४ दिनको स्वाब दिँदा श्रीमान् प्रकाश घिमिरेको रिपोर्ट पोजेटिभ आयो । मैले जिन्दगीमा ठूलो गल्ती गरेको महसुस भयो । मैले एक्ले बस्ने सक्ने हिम्मत राखेको र घर परिवारले पनि एक्लै बस्ने हिम्मत दिएको भए सायद यो दिन आउन थिएन ।

कोरोनासँग मेरो भेट
भाइकाे विवाहका लागि वैशाख १२ गते म पोखरा गएको थिएँ । पार्टीमा जाने तयारी हुँदै थियो एक्कासी काठमाडौंबाट ससुराबुबाको फोन आयो । उहाँ मुटुको बिरामी भएकोले शहिद गंगालाल अस्पतालको डा. रोसन राउतले १४ गते मुटुको अप्रेसन गरी पेसमेकर राख्नुपर्छ भनि पहिले नै भन्नुभएको थियो ।

तर, अहिलेको विषम परिस्थितिमा पीसीआर रिपोर्ट नेगेटिभ आएमा मात्र अप्रेसन गर्नुपर्ने भएकाले १ दिन अगाडी नै अस्पताल भर्ना गर्न जानुपर्ने रहेछ । उक्त अवस्थामा छोरा बुहारी दुवै बाहिर भएकाले ससुरा बुबा आत्तिएर फोन गर्नुभएको रहेछ ।

श्रीमान्ले म बिहानको बसमा नै काठमाडाैं आजै जान्छु तिमी मिलाएर भोलि काठमाडौं आउ भन्नुभयाे । तर मेरो मन पार्टीमा कहाँ रमाउँला र ? कसैलाई खबर नै नगरी तुरुन्तै हामी राति १० बजे काठमाडौं आइपुग्यौं । सरकारले १६ गतेदेखि लकडाउन गर्ने घोषण गरिसकेको थियो । गाउँ, घर, टोल, समाज कोरोनाले आक्रान्त भइसकेको अवस्था थियो ।

अझ अस्पतालमा त्यत्तिकै डर त्रास थियो । यस्तो अवस्थामा ससुराबुबा अप्रेसन नगर्ने अडानमा बस्नुभएकाे थियाे । घर सल्लाहपछि उहाँ अप्रेसनका लागि तयार हुनुभयाे । सासुआमा र दुई छोराहरूलाई घरमा नै छोडी हामी श्रीमान् श्रीमती बुवालाई १३ गते अस्पताल लग्याैं । पीसीआरका लागि लागि स्वाब लिएर बुवालाई भर्ना गरियाे ।

हामीले सहजताको लागि सिंगल क्याबिन बेड लियौं । रिपोट नेगेटिभ आएकाे भोलिपल्ट १४ गते बिहान ११ बजेका लागि अप्रेशन तय भयाे । गंगालाल अस्पताल इमर्जेन्सीबाहेक अन्य वार्ड सुनसान नै थियो । सासु आमालाई अस्पताल राती कुरुवा बस्नको लागि बोलाई हामी राति अबेर घर फर्कियौं ।

१४ गते बिहान ६ बजे नै प्रशिक्षार्थीहरूलाई तालिम दिन ललितपुर तालिम केन्द्र गएँ । दुई वटा समूहलाई तालिम दिइसकेपछि करिब १२ बजे अस्पतालमा सँगै खाना खाने सल्लाहबमोजिम म गंगालाल अस्पतालतर्फ मोडिए । जाम छिचोल्दै करिब १ः३० बजे अस्पताल पुगेँ । स्कुटरमा लामो जाम, खाली पेटका कारण मेरो शरीर सिथिल भइसकेको थियो । सहनै नसक्ने गाह्रो भइरहेको थियो ।

रातभरी दुखाइ, छटपटी, बुवाको अवस्थाले राम्रोसँग सुत्ने अवस्था नै भएन । राती ११ बजे बल्ल आँखा लाग्याे । भोलिपल्ट १६ गते निषेधाज्ञा भएकाले तालिम केन्द्र जान नपर्ने भएपछि केही ढिलाे उठेँ । केही आरामको महसुस गरे । बुवाको स्वास्थ्य अवस्था बुझेर आफ्नो स्वास्थ्य स्थितिकाे बारेमा परिवारमा जानकारी गराएँ । १० बजेतिर उभिनै नसक्ने भएपछि पलङमा पल्टिए ।

शरीर पुरै तातेको थियो । टाउको फुट्ला झैँ भएको थियो । काम ज्वरो आयो, डबल ब्ल्याङ्केट ओडे । आँखा फुट्ला सहनै नसक्ने गरी दुख्न थाल्यो । त्यसबेला मलाई १०२ फरनहाइट ज्वरो आएकाे रहेछ । महामारीको अवस्था भएकाले सबैको मनमा अनेकन कुरा उब्जिन थाल्यो । जसले के‍ही डर पैदा गर्याे ।

सतर्क हुनुपर्छ भन्ने लागेपछि परिवारसँग नजिक आउन नदिने निधो गरेँ । तर परिवारको मन कहाँ मान्छ र ? मेरो नजिक हुन थाल्नुभयो । पटक-पटक आग्रह गर्दा पनि उहाँहरू नजिक आइरहनुभयाे । दुई वर्षअघिकाे टाइफाइड भएकाे र छिट्टै निकाे हुने ढाडस दिनुभयाे श्रीमानले ।

रिता घिमिरे र उनका श्रीमान् प्रकाश घिमिरे

बिरामी भएकाे अवस्थामा एक्लै नछाड्ने भनेर श्रीमान् मसँगै आएर बस्न थाल्नुभयाे । भोलिपल्ट बिहानै सबैकाे आग्रहमा मेरो स्वाब परीक्षणका लागि दिइयाे । स्वाब दिएपछि पुन: मलाई काम ज्वरो आउन थाल्यो । सबैले टाइफाइड नै हो ढुक्क बन्न सम्झाइ रहनुभएको थियो । बेलुका ८ बजे ‘कोभिड पोजेटिभ’ भएकाे रिपाेर्ट आयाे ।

हामीलाई सपना हो कि बिपना ठम्याउन गाह्रो भयो । बेस्सरी डाँको छोडेर रुन मन लाग्यो । भक्कानो फुट्ला जस्तो भयो तर सम्मालिन मैले हिम्मत गरेँ । मेरो पीडा सँगसँगै परिवारको भोलिको दिनमा आउन सक्ने सम्भावित जाेखिमकाे अनुभुतिले पोल्न थाल्यो ।

तल्लो तल्लामा भर्खर अप्रेशन गरेको ससुराबुवा छट्पटाइ रहनुभएको थियो । छाती दुखेर रातभरि सुत्न सकिन । सबैले निमोनिया हुन्छ भनेर आत्तिन थाल्नुभयो । बिहान उठ्नासाथ सानो छोरा छेउमा आएर ‘मम्मा म हजुर सँग सुताैं ?’ भन्दा भक्कानो फुट्थ्याे ।

बिस्तारै श्रीमान र मलाई शरीरकाे दुखाइ घट्दै जान थाल्यो । बेला-बेलामा अक्सिजनको लेवल घटेपनि मनोबल घट्न दिन्नथेँ । हामी दुवैजनाकाे स्वाद र गन्ध हराएकोले खाना नमिठो हुन्थ्यो । काेभिडलाई खाएरै जित्नुपर्छ भनेर सबैले सम्झाउनुहुन्थ्यो ।

अब त नयाँ जीवन पायौं भन्दै आशाका किरणहरू मनमा पलाउन थाले । रातदिन नभनि ज्यानको बाजी थाप्दै सहयोग गर्ने मेरो बहिनी (नन्द) र ज्वाईलाईं खोकी लाग्दा पनि आफैँलाई पीडा हुन्थ्यो ।

अन्त्यमा १६, १७ दिनको दिनमा हामी दुबैले कोरोनासँगको लडाईंमा विजय प्राप्त गर्याैं । कोरोनाले अब मलाई लडाउँछ होइन यो रोगसँगको लडाईमा जित हासिल गर्नेछु भनेर आफैमा दृढ विश्वास भइ प्रतिबद्धता गर्न सक्नुपर्ने रहेछ ।

यो रोग लाग्नु भन्दा लाग्न नदिन आवश्यक न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गरेर घरमा नै बसौं । विनाकाम घर बाहिर ननिस्किन अनुराेध छ । सावधानी अपनाउँदा पनि संक्रमण भएमा दृढ बिश्वास राखेर आत्मबल बलियो बनाउँदा संक्रमणलाई परास्त बनाउन सजिलाे हुन्छ ।

घिमिरे फिनिक्स मन्टेश्वरी टे«निङ सेन्टर लगनखेल ललितपुरकी फाउन्डर तथा ट्रेनर हुनुहुन्छ ।