२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ट्रम्पविरुद्धको महाअभियोग छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित, ‘ह्वाइट हाउस’को आपत्ति


0
Shares

काठमाडौं, कात्तिक १५ । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग छानबिन अघि बढाउने प्रस्ताव पारित गरेको छ ।

संसदले पारित गरेको उक्त प्रस्तावमा ट्रम्पलाई महाअभियोग लगाउने विषयमा भइरहेको छानबिनले कसरी अझै सार्वजनिक रुप लिन्छ भन्ने कुरा समेटिएको ‘बीबीसी’ले जनाएको छ ।

तर, संसदमा भएको मतदानमा राष्ट्रपतिलाई महाअभियोग नै लगाएर पदच्यूत गर्ने वा नगर्ने भन्ने विषयचाहिँ नरहेको जनाइएको छ ।

प्रस्तावको पक्षमा २३२ मत खसेको थियो भने विपक्षमा १९६ मत खसेको थियो ।

प्रस्ताव पारित भएसँगै तल्लो सदनमा ट्रम्पविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन छ वा छैन भन्ने कुराको पहिलो औपचारिक परीक्षण भएको छ ।

तर, ‘ह्वाइट हाउस’ले उक्त मतदानप्रति असन्तुष्टि जनाएको छ । प्रस्ताव पारित भएसँगै ट्रम्पका वकिलहरूको अधिकार पनि कटौती गरिएको छ ।

राष्ट्रपति ट्रम्पमाथि अपुष्ट भ्रष्टाचारको दाबीबारे आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएको आरोप लागेको छ । तर, ट्रम्पले आफूमाथि लागेको आरोप गलत भएको दाबी गर्दै आएका छन् । (एजेन्सी)