‘बोइङ’का ५० ओटा विमानमा क्षति भएको देखिएपछि ‘ग्राउन्डेड’ • Image Khabar Image Khabar


‘बोइङ’का ५० ओटा विमानमा क्षति भएको देखिएपछि ‘ग्राउन्डेड’


Imagekhabar
१४ कार्तिक २०७६, बिहीबार १५:२५

‘बोइङ’का ५० ओटा विमानमा क्षति भएको देखिएपछि ‘ग्राउन्डेड’

सिड्नी, कात्तिक १४ । बोइङ कम्पनीका निकै लोकप्रिय ७३७ एनजी ‘सिरिज’का ५० ओटा विमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ ।

यसअघि नै दुईओटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो ।

अस्ट्रेलियाली राष्ट्रिय ध्वजावाहक क्वान्टासले एउटा विमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ ।

क्वान्टासले यही सिरिजका अरु ३२ विमानको पनि परीक्षण गर्न लागेको छ । तर, कम्पनीले यात्रीहरुलाई चिन्ता नलिन आग्रह गरेको छ ।

गत अक्टोबरको सुरुमै दक्षिण कोरियाली अधिकारीहरुले विमानमा क्षति देखिएको पत्ता लगाएसँगै ९ ओटा विमान ग्राउन्डेड गरेका थिए । यी विमानमध्ये कोरियन एअरका पाँचओटा थिए ।

विमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले विमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो ।

क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एकजना प्रवक्ताले बिहीबार नै एक हजार विमानमध्ये ५ प्रतिशतभन्दा कम विमानमा स–साना दरार देखिएको बताएका छन् । प्रवक्तले ती विमानको मर्मत सुरु भइसकेको पनि जानकारी दिए ।

क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नूकले विमान पूर्णरुपमा सुरक्षित महसुस नगर्दासम्म कुनैपनि विमान नउडाउने बताए ।

अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजारपटकभन्दा बढी उडेका सबै ७३७ एनजी सिरिजका विमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ ।

तर, क्वान्टासले ३० हजारपटकभन्दा कम उडेका विमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ ।

यी विमानहरु सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्यूजिल्यान्डसम्ममात्र उडाइएको क्वान्टासले जनाएको छ ।

अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एअरवेजले बोइङ ७३७ एनजी सिरिजका सबै १७ ओटा विमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ ।

बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुईओटा विमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका विमानहरुको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्