२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जम्मू–कश्मीर अब औपचारिक रुपमै दुई भूभागमा विभाजित


0
Shares

काठमाडौं । भारतले आजबाट जम्मू–कश्मीर राज्यलाई औपचारिक रुपमा दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरेको छ ।

नयाँ व्यवस्था अनुसार अब जम्मू–कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन् । यी दुई भूभागमा दिल्लीको प्रत्यक्ष शासन रहनेछ ।

पहिले जम्मु–कश्मीर राज्यकै भाग रहेको बौद्धमार्गीको बाहुल्य लद्दाख क्षेत्र छुट्टै एकाइ बनेको छ ।

भारत सरकारले गत अगष्ट पांचमा जम्मु–कश्मिरको विशेष संवैधानिक मान्यता खारेज गर्ने विवादास्पद निर्णय गरेको थियो । निर्णयविरुद्ध कश्मिरमा प्रदर्शनहरु हुंदै आएका छन् ।

केन्द्रशासित क्षेत्रहरूसँग निकै कम स्वायत्तता रहने छ भने दिल्लीको नियन्त्रण थप कसिलो बनाउनेछ ।

जम्मु–कश्मीर राज्यको करिब ९८ प्रतिशत जनसंख्या केन्द्रशासित जम्मु–कश्मीर भूभागमै रहनेछन् ।

मुसलमान बहुल कश्मीर उपत्यकामा ८० लाख जनसंख्या छ भने हिन्दूबहुल जम्मुमा ६० लाख जनसंख्या छ ।

निकै उचाइमा रहेको लद्दाखमा तीन लाख मानिस बसोबास गर्छन् । त्यहां मुसलमान र बौद्धमार्गी लगभग बराबर छन् ।

जम्मु कश्मिरको विशेष मान्यता खारेज भएयता कश्मीरमा तनाव चर्किएको छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मोबाइल सेवा ७२ दिनसम्म बन्द गरिएको थियो भने सञ्चारमाध्यमहरुमाथि नियन्त्रण कायमै छ ।

मंगलवार मात्र पहिलो पटक त्यस क्षेत्रमा यूरोपियन यूनियनका सांसदहरुलाई भ्रमण गराइएको थियो । (एजेन्सी)