काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभाका एक सदस्यको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई मैदानमा उतारेका प्रधानमन्त्री केपी ओलीका लागि उनको जित प्रतिष्ठाको विषय बनेको छ ।
तर, झलनाथ खनाल–माधव नेपाल समूहले आफ्ना पक्षका मतदातालाई पार्टी निर्णय होइन, ‘स्वविवेकीय अधिकार’ प्रयोग गर्न दिएपछि एमालेका बहुमत मतदाता रहँदारहँदै पनि गृहमन्त्री बादलका लागि चुनौती पैदा भएको छ ।
एमालेभित्रको विवाद गृहमन्त्री थापाका लागि टाउकोदुखाइको विषय बनेको छ भने प्रधानमन्त्री ओलीका लागि प्रतिष्ठा दाउमा छ ।
एमालेकै खनाल–नेपाल समूहको प्रस्तावअनुसार डा. खिमलाल देवकोटालाई स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उतारेका कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहसहितको विपक्षी गठबन्धन राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तापक्षलाई धक्का दिने दाउमा छ ।
एमालेभित्रको अन्तर्विरोधले खनाल–नेपाल समूहका मतदाता चुनावी मैदानमा निर्णायक अवस्थामा छन् । त्यसैले एमालेको एकल बहुमत रहे पनि खनाल–नेपाल समूहका मतदाताले परिणामलाई प्रभावित पार्न सक्छन् ।
सत्तापक्ष र प्रतिपक्ष गठबन्धन दुवैका लागि प्रतिष्ठा रहेको उपचुनावमा आज अंकगणितको परीक्षण हुँदै छ । उपनिर्वाचनका लागि बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । आयोगले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउन शान्तिसुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरू व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्