१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


महरालाई अझै सात दिन थुनामा राख्न अनुमति, कात्तिक १३ सम्म हिरासतमै


0
Shares

काठमाडौं, कात्तिक ७ । संसद सचिवालयमा कार्यरत् महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक म्याद थपिएको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको बहसपछि प्रहरीले मागेअनुसारकै सात दिनको म्याद थपिएको हो ।

यो म्यादअनुसार महरा यही कात्तिक १३ गतेसम्म हिरासतमै रहनेछन् ।

यसअघि, हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रोपटक थप भएको पाँच दिनको म्याद बुधबार सकिएको थियो ।

गएको असोज १९ गते साँझ बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महरा १८ दिनदेखि हिरासतमा छन् ।

असोज २३ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने कानुनी प्रावधान रहेको छ ।

बलात्कार प्रयासको आरोप लागेपछि महराले गएको असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।