
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल गराएर आफ्नो नेतृत्वको बहुमतको सरकार बनाउने निर्णायक जोडघटाउमा जुटेको छ । प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावका विषयमा धारणा तयार गर्न शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतमा असफल गराउने र आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गरी सोमबार संसद्को विशेष अधिवेशन आह्वान भएको छ । त्यसको पूर्वसन्ध्यामा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरिसकेको अवस्थामा अविश्वासको प्रस्ताव लैजानुभन्दा प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल गराएर बहुमतको सरकार बनाउने कसरत गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
ओलीको विकल्प खोज्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का बीच निरन्तर संवाद हुँदै आएको छ । शनिबारको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली आफू विश्वासको मत पनि नलिने र वैकल्पिक सरकार पनि बन्न नदिएर पुनः संसद् विघटन गर्ने दाउमा रहेको बिफ्रिङ गरेका छन् । ‘ओलीले पुनः संसद् विघटन गरेर चुनावको घोषणा गर्न चाहेका छन्, तर अहिले एकपछि अर्को असंवैधानिक कदम चालिरहेको ओलीले चुनाव गराउँदैनन् । ओलीले गराएको चुनावमा भाग लिन सकिँदैन, त्यसैले ओलीलाई हटाउन हरसम्भव प्रयास भइरहेको छ,’ देउवालाई उदृत गर्दै एक सांसदले भने ।
प्रधानमन्त्री ओलीविरुद्ध बैठकको सुरुवातमै आक्रोशित भएर प्रस्तुत देउवाले सांसदहरूलाई २७ वैशाखमा संसद्को विशेष अधिवेशनमा विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएका थिए । ‘विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने हो, अहिले ओलीको विकल्प खोज्नैपर्ने अवस्था भएको छ, भएसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने हो, पार्टीको निर्णय पनि त्यही छ,’ देउवाले भनेका थिए, ‘यसका लागि सबै प्रयत्न भएका छन् ।’ नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्