१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सर्वाधिक लामो सीधा यात्रीवाहक उडान


0
Shares

सिड्नी, कात्तिक ३ । करिब १९ घन्टाको सीधा उडानपछि क्वान्टासको यात्रीवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ ।

यो विश्वकै सर्वाधिक लामो सीधा उडान रहेको क्वान्टासले जनाएको छ ।

क्वान्टासको फ्लाइट नम्बर क्यूएफ ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न १९ घन्टा १६ मिनेट लागेको थियो ।

अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टासले यसअघि लन्डनदेखि सिड्नीको सीधा उडान पनि परीक्षण गरिसकेको छ ।

क्वान्टासले पछिल्लो समय संयुक्तराज्य अमेरिका र बेलायतबाट सीधा उडान गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।

न्यूयोर्कबाट सिड्नीको पहिलो उडानमा ४९ जनामात्र यात्री थिए । यो विमानले तेल पुनः भरण नगरी १६ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरेको थियो ।

क्वान्टासका प्रमुख कार्यकारी अधिकृत अलान जोयसले यो उडान हवाई कम्पनी र विश्व हवाई यात्राका दृष्टिले निकै ऐतिहासिक क्षण रहेको बताए ।

लामो दूरीको यात्रामा जेटल्याग (बिरामीपन) हुने खतरा कम गर्न क्वान्टासले दुईओटा अस्ट्रेलियाली विश्वविद्यालयसँग मिलेर अध्ययन गरिरहेको छ ।

यात्रीहरुले अस्ट्रेलियाली आकाशतर्फ आइपुग्दा आफ्नो घडीमा सिड्नीको समय मिलाएका र खानेकुरा पनि अस्ट्रेलियाली लिएको विमान कम्पनीले जनाएको छ ।

क्वान्टासले गत वर्ष अस्ट्रेलियाको पर्थबाट लन्डनको सीधा उडान सुरु गरेको थियो । यो उडान करिब १७ घन्टाको छ र विश्वमै लामो दूरीको उडानमध्ये यो एक हो । रासस/एएफपी