२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


यस्तो पाराले एनआरएनए चल्दैन


0
Shares

-युवराज गौतम

गैर आवसीय नेपाली संघ(एनआरएनए) र विदेशमा बस्ने नेपालीहरुप्रति देशले ठूलो अपेक्षा गरेको छ । गर्विलो इतिहास बोकेको एनआरएनएप्रति सरकार मात्र होइन, विश्वभर रहेका नेपालीको उच्च सम्मान छ । हुन पनि विदेशमा रहेका करिब ८० लाख नेपाली देश विकासमा हिस्सेदार हुन । उनीहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो स्थान राख्छ । सीप र लगानीका हिसाबले उनीहरुको भूमिका साँच्चै गर्व गर्न लायक छ । हाल नेपालमा सम्पन्न भएको एनआरएनएको विश्व नवौं सम्मेलनमा उठेका कतिपय मुद्दाहरु देश समृद्ध बनाउने दिशामा महत्वपूर्ण र अर्थपूर्ण बन्न सक्छ र सक्नुपर्छ । त्यसका लागि मुद्दाहरु पारदर्शी र ब्यवहारिक रुपमा कार्यान्वयन हुनु आवश्यक छ ।

अव सवाल रह्यो नवौं विश्व सम्मेलनमा देखिएका अपाच्य र अमर्यादित दृश्यहरुको समिक्षा । जुन दृश्यका कारण एनआरएनएको गर्विलो इतिहासमा दाग लागेको छ । आम नागरिकमा एनआरएनए संस्थाप्रति देखिएको सदभाव, भरोसा र अपेक्षामाथि तुषारापात भएको छ । संस्थाको विधि, विधान र हालसम्म कायम राखेको प्रतिष्ठामा थोरै भए पनि आँच आएको छ । सामाजिक संजालमा ब्यक्त भएका भावनाहरुलाई मात्र केलाउने हो भने एनआरएनए र यसका केही अभियन्ताहरुलाई क्षमा दिन सक्ने अवस्था देखिदैन । विदेशमा बस्दा सँधै आफ्नो मातृभूमीको चिन्ता र चासोमा विताउने, यो भएन र उ भएन भनेर सत्तोसराप गरिरहने नेपालीहरुका लागि एनआरएनएको विश्व सम्मेलनमा अपाच्य हर्कतले लाजमर्नु बनाएको छ । करिब ७५ हजार सदस्य रहेको एनआरएनएप्रति गम्भीर समिक्षा जरुरी देखिएको छ ।

तोडफोड र उदण्डता

विदेशमा बसेर उच्च शिक्षा हाँसिल गरेका, सभ्य, शिक्षित र देशको समृद्धीमा केही काम गरौं भन्ने भावना बोकेर अर्ति उपदेश दिइरहने र एक्सनमा काम पनि गरेर परोपकारी बनेका एनआरएनएहरुले हालै सकिएको विश्व सम्मेलनमा देखाएको ब्यवहारले संस्थाको गरिमाप्रति नै प्रश्न उठाएको छ । असोज २८ गतेदेखि तीनदिनसम्म काठमाडौंको हयात होटलमा चलेको सम्मेलन स्थलमा मात्र होइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि तोडफोडमा उत्रिएको घट्नाले संस्थामाथि नै प्रश्न खडा गर्‍यो ।

अस्ट्रेलियाबाट सम्मेलनमा भाग लिन आएका एक प्रतिनिधिले विमानस्थलको डेक्स तोडफोड गरेपछि एक दिन प्रहरी हिरासत र एक दिन अध्यागमन विभागको हिरासतमा बिताएर ५० हजार धरौटी नै तिर्नुपर्‍यो । सरकारको समेत लगानी रहेको सम्मेलनस्थल हायात होटलमा चुनावी प्रक्रियामा धाँधली भएको भन्दै तोडफोडमा उत्रिएपछि दर्जनौं कुर्सी भाँचिए । डेलिगेड्सहरु नै तोडफोडमा उत्रिएपछि सम्मेलनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालित गरिएको थियो । साथै प्रतिनिधिहरुले मतदान सुरु नभएको भन्दै नाराबाजी र तोडफोड पनि गर्न भ्याए । त्यसक्रममा अध्यक्षका उम्मेदवार कुमार पन्त(हाल निर्वाचित)ले माफी नै मागेका थिए । त्यसवाहेक सम्मेलनस्थलमा सामान्य उदण्डका घट्नाहरु चलिरहे । जसका कारण संस्थाको प्रतिष्ठामाथि प्रश्नहरु खडा भएका छन् । यस्ता गतिविधिहरु सुधार नगरे संस्था कलंकित बन्ने निश्चित छ ।

उपेन्द्र महतोको बहिष्कार

वास्तवमा विश्वभरका नेपालीहरुलाई एकताको सुत्रमा बाँधेर मुलुकको विकासमा सघाउ पुर्‍याउने उद्देश्यले एनआरएनएको जन्म भएको थियो । उपेन्द्र महतोले स्थापनाकालमा त्यसको नेतृत्व गरे । एक दशकसम्म संस्था साँच्चै लोभलाग्दो र सम्मानयोग्य बन्यो । कामहरु धेरै भए । विश्वभर चर्चा भयो । संस्थाले सरकारको मन जित्यो र नागरिकको माया पायो । तर नवौं विश्व सम्मेलनमा आइपुग्दा यसमा राजनीतिक रंग देखिन पुग्यो । दलको चंगुलमा पुग्यो संस्था । मुद्दाहरु गफमा सिमित हुँदै गइरहेका छन् ।

जसको फलस्वरुप संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक महतोले सम्मेलन वहिष्कार गर्न बाध्य भए । संघ स्थापनाको उद्देश्य विपरित अनावश्यक राजनीतिक हस्तक्षेप भएको भनी उनी सम्मेलनमै गएनन् । विश्वभर छरिएका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजतीतिक संगठन जस्तो बनाउन खोजेको भन्दै उनले सम्मेलन बहिष्कार गरेको स्वीकारे । महतोको असन्तुष्टीबाट पनि एनआरएनएको गरिमालाई बचाउन आजैदेखि काम नगरे संस्था दुर्घटनामा फस्ने निश्चित छ ।

मनी र मसल

विश्व सम्मेलन स्थलमा यसपटक अनौठो दृश्यहरु देखिए । भड्किलो खर्च गर्दै भोट माग्ने, महंगा होटलहरुमा ‘दारुपाटी’को मेस चलाउने र ठूला पाखुराधारी गैर एनआरएनएहरुलाई चुनावी प्रचारमा उत्र्याएको दृश्यले गलत सन्देश प्रवाह गर्‍यो । त्यतिमात्र होइन विदेशका च्यारिटी र सांगीतिक कार्यक्रम साथै विभिन्न प्रतियोगिताहरुका नाममा एनआरएनएलाई प्रयोग गर्दै विदेश सयर गर्न पाउने आशमा उदाउँदा कलाकारहरुको भीड सम्मेलन स्थलमा देखियो । त्यसमध्ये पनि नग्न तस्विर प्रदर्शन गर्दै ‘हट मोडल’को उपाधि पाएका युवतीहरुको उपस्थिति बाक्लो देखियो । यसबाट के पुष्टी हुन्छ भने पैसा र पहुँचका आधारमा सौन्दर्यता बेच्दै मोडलहरुलाई भोट माग्न लगाउने र विदेश घुमाएर मस्ती गर्ने एनआरएनएहरुकै कारण संस्थाको गरिमा खस्किन्छ कि भन्ने चिन्ता बढेको देखिन्छ । भिसा दिलाउने नाममा संस्थाको कागजात गलत रुपमा प्रयोग हुने हो कि भन्ने चिन्ता शुभेच्छुकहरुले ब्यक्त गर्न थालेका छन् ।

मैदानमा कार्यकर्ता, होटलमा नेता

एनआरएनएको यस पटककको सम्मेलन विगतको जस्तो पटक्कै देखिएन । राजनीतिक दलहका कार्यकर्ता र नेताहरु भीडले संस्था कतै कुनै दलको भ्रातृ संगठन त बनिरहेको छैन भन्ने आशंका उब्जाउनु अस्वाभाविक भएन । किनकी राजनीतिक कित्ताकाट नै गरेर चुनावी प्यानल विभाजित बन्नु दुर्भाग्यपूर्ण बनेको छ । सम्मेलन स्थलमै गएर अवलोकन गर्दा प्रष्ट हुन्थ्यो, एनआरएनएका प्रतिनिधि वा डेलिगेट्स भन्दा पनि विभिन्न दलका सक्रिय कार्यकर्ताहरु आफू निकटका उम्मेदवारलाई मैदानमा भोट मागिरहेका देखिन्थे ।

एनआरएनएप्रति राजनीतिक दलका शीर्ष नेताहरुको चासो पनि यसपटक अलिक बढी नै रहेको चर्चा सम्मेलनस्थलमा ब्यापक थियो । नेताका घर घरमा उम्मेद्वारहरुको उपस्थिति र होटलमा नेताहरुको प्रवेशले संस्थामा राजनीतिक गन्धले प्रवेश पाइसकेको बुझ्न गार्‍हो छैन । यस्तो गन्ध दुर्गन्धमा परिणत भयो भने एनआरएनए भन्ने संस्था साझा संस्था रहँदैन भन्ने विश्लेषण सुरु भइसकेको छ । संचारमाध्यमहरुले गरेका कभरेज पनि संस्थाप्रति भन्दा उम्मेदवारप्रति बढी इमान्दार बनेको देखियो । संचारमाध्यमको जिम्मेवारी गलत रुपमा प्रयोग हुँदा संस्थाको गरिमामाथि प्रश्न तेर्सिएको छ ।

संस्थाको गिर्दो शाख

एनआरएनएको नवौं विश्व सम्मेलनको बन्दसत्रका क्रममा नेतृत्वप्रति प्रशस्तै आक्रोशहरु ब्यक्त भए । संस्थाको आर्थिक पारदर्शिता, सचिवालयको व्यवस्थापन, संस्थाको दुरुपयोग गर्दै ब्यक्तिगत लाभहानीका विषयले बन्द सत्र गुन्जायपूर्ण रह्यो । त्यतिमात्र होइन संस्था ऋणमा डुब्दै गएको घट्नाले झनै चर्चा पाएको छ । आठौं सम्मेलनताका एनआरएनएको बैंक खातामा ५५ करोड रुपैंयाँ रहेको तर अहिले १६ करोड ऋण लागेको प्रसंगले माहोल तताएको छ । सचिवालय संचालनकै लागि ऋण सापटी लिनु परेको, लगानीको स्पष्ट तथ्यांक नभएको, सचिवालयमा सिइयो नियुक्तीमा चरम विवादका घट्नाले संस्थाको शाख गिर्दो रहेको बुझ्न सकिन्छ ।

संस्थाले बर्षौदेखि उठाउँदै आएको नागरिकता, मतदान अधिकार, गोर्खाहरुको समस्या, खाडी देशका कामदारहरुको पीडामा सरकारले एक्सनमा काम गर्न नसक्नुको पछाडी नेतृत्व फितलो भएको, ब्यक्तिगत लाभमा रुमलिएको जस्ता आरोपहरुले संस्थाको प्रतिष्ठामा गम्भीर समस्या देखिएको बुझ्न सकिन्छ । यी यावत समस्या, आरोप, ब्यतिथिलाई चिर्दै संस्थाको गरिमालाई बचाउन नवनिर्वाचित कमिटिको अघिल्तिर चुनौति र अवसरहरु देखिएका छन् ।