Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


प्रधानमन्त्रीलाई धरहरा उद्घाटनमा हतारो: ४० प्रतिशत काम अझै बाँकी


0
Shares

काठमाडौं । बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए। तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ। धरहराको पूरा काम सकिन अझै १ वर्ष पर्खनुपर्छ। कोभिडका कारण काम रोकियो भने अझै बढी समय लाग्नेछ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको काम नसकिँदै उद्घाटन गर्न हतारो गरेपछि ठेकेदार कम्पनीले बाहिरी बनावटको काम मात्रै सकेको थियो। दुईवटा लिफ्ट जडान र बाहिरी रुप तयार पारेपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए। तर २२ तले धरहरामा चढ्ने भर्‍याङ अझै बनिसकेको छैन। ठेकेदार कम्पनीले सिढी बनाउने काम बल्ल सुरु गरेको छ। 

प्रधानमन्त्रीलाई उद्घाटन गर्न हतार भएपछि ठेकेदार कम्पनीले काम नसकिँदै लिफ्ट जडान गरेको थियो। २० औं तलासम्म पुग्ने भर्‍याङ (सिढी) बनाउन समय लाग्ने भएपछि लिफ्ट जडान गरिएको थियो। तर राम्रोसँग लिफ्ट नराखिएका कारण फेरि खोेलेर फिटिङ गर्ने कार्य भइरहेको छ। हतारमा बाहिरी र माथिल्लो तलाको मात्रै काम सकाउँदा अन्य काम गर्न कठिन परेको धरहरा पुनर्निर्माणमा खटिएका कामदार बताउँछन्। उनीहरूले माथिल्लो तलाकै भित्री काम धेरै बाँकी रहेको अवस्थामा उद्घाटन गरिएको बताए।

त्यसो त धरहराको फेद पनि बनिसकेको छैन। वरिपरि सम्याउन बाँकी छ। ‘काम अझै धेरै बाँकी छ, मोटामोटी काम सकेर उद्घाटन भयो । हतारमा काम गर्दा बिग्रिन सक्छ, हतार गर्दा लिफ्ट फेरि खोलेर जडान गर्नुपरेको छ,’ एक कामदारले भने, ‘हामीले आफ्नो सुरले काम गर्न पाएनौं, त्यसैले धरहरा निर्माण कार्य भद्रगोल भयो।’  

ठेकेदार कम्पनीले उद्घाटनपछि पनि धेरै काम बाँकी रहेको जानकारी दियो। ठेक्का पाएको रमण निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बाँकी काम भइरहे पनि तोकिएको समयमा नसकिने अवस्था देखिएको बताए। उनले तीव्र गतिमा निर्माण कार्य भए पनि कोरोनाका कारणले प्रभावित बन्न सक्ने बताए। उनले भने, ‘धेरैलाई उद्घाटन गरेपछि धेरै काम सकियो भन्ने लागेको छ तर खास अप्ठेरो र समय लाग्ने काम गर्ने बाँकी छ, त्यसैले कम्तीमा पनि १ वर्ष लाग्छ।’ उनले कोभिडका कारण कामदार घर फर्कन थालेकोले काम प्रभावित बन्न सक्ने बताए। नागरिक