काठमाडौं । आइतबार साउदी उड्ने तयारीमा रहेका लुम्बिनीका मोहम्मद उमर शुक्रबार स्टार अस्पताल परिसरमा लाइनमा थिए, पिसिआरका लागि १११६ नम्बरको टिकट लिएका थिए । दिउँसोको ३ बजिसकेकोे थियो । उनको पालो सयजनाभन्दा पछाडि थियो । ‘म्यानपावरले पिसिआर परीक्षणका लागि ह्याम्स वा स्टार अस्पतालमा जानू भनेको थियो, त्यही भएर यता आएको,’ उनले भने ।
सरकारले देशभर ५१ सरकारी र ३६ निजी प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति दिएको छ । तर, सरकारी अस्पतालमा जम्मा हजार रुपैयाँमा पिसिआर परीक्षण हुन्छ, तर रिपोर्ट आउन तीनदेखि चार दिनसम्म लाग्छ । तर, विदेश जान अहिले ४८ घन्टाभित्रको रिपोर्ट अनिवार्य गरिएको छ ।
निजी अस्पतालमा ६ देखि आठ घन्टामा नै रिपोर्ट आउँछ, त्यसैले दोब्बर पैसा (दुई हजार) तिरेर पनि यात्रुहरू निजी अस्पताल जान बाध्य छन् । तर, ३६ निजी प्रयोगशालामध्ये जम्मा पाँचको पिसिआर देखाए मात्र विदेश जान पाइन्छ । निजीमा स्टार, ह्याम्स, मेडिसिटी अस्पताल र मनमोहन मेमोरियल मेडिकल कलेज तथा उपत्यकाबाहिर युनिभर्सल मेडिकल कलेजले मात्र मान्यता पाएका छन् । यसरी थोरै प्रयोगशालामा धेरै मान्छेको परीक्षण गराउँदा प्रयोगशालामा नै भिड बढेर संक्रमणको जोखिम बढेको छ ।
त्यसो त सरकारले नै एकै ठाउँमा २५ जनाभन्दा बढी जम्मा नहुन आदेश जारी गरेको छ । तर, प्रयोगशालामा हजारजनाको भिड छ । त्यही भिडमा भेटिए, नेपालगन्जका मानबहादुर बोहरा । स्टार अस्पतालमा बिहानै टिकट लिए पनि बेलुकापखसम्म उनको पालो आएको थिएन । उनी पनि आइतबार साँझ साउदी जाँदै छन् । मंगलबार नेपालगन्जबाट काठमाडौं आएका उनले गुनासो गरे, ‘पहिले नै पिसिआर गरिहाले म्याद सकिन्छ । ठिक्क समयमा गर्दा भिड छ, अन्तको मान्यता नहुने, पाँच अस्पतालको मात्र मान्यता हुने भन्ने अनौठो नियम रहेछ ।’
ह्याम्स अस्पतालमा पालो कुरिरहेकी संगीता भुसाललाई रुघाखोकी लागेको थियो । आइतबार युके जान लागेकी संगीता बिहीबार पिसिआरका लागि अस्पताल गएकी थिइन् । तर, रिपोर्ट पुरानो हुने भएपछि उनी शुक्रबार पनि ह्याम्स पुगेकी थिइन् । ‘हिजो नै यहाँ भिडभाड थियो, आज पनि यस्तै छ । पर्र्सि फ्लाइट छ, पिसिआर रिपोर्ट पजिटिभ आयो भने के गर्ने होला ?’ उनी डराएकी छिन् ।
सरकारले विदेश जाने प्रयोजनका लागि पिसिआर परीक्षण गर्न निजी अस्पतालको नामै तोकेर अनुमति दिएको छ । परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने वेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच अस्पतालका ल्याबलाई नाम र फोन नम्बरसमेत उल्लेख गरेर अनुमति दिएपछि ती अस्पतालमा परीक्षण गराउनेको भिड छ । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्