काठमाडौं, कात्तिक १ । शुक्रबारदेखि ललितपुरको जावलाखेलमा १३औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६ सुरु भएको छ ।
नेपाल फ्लोरिकल्चर एसोसिएसनले ‘रोपेर फूल गोदावरी, सजाऔं घर–आँगन वरिपरि’ भन्ने नाराका साथ व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यस किसिमको मेलाको आयोजना गर्दै आएको छ ।
पछिल्ला वर्ष नेपाल पुष्पजन्य उत्पादनमा आत्मनिर्भरउन्मुख बन्दै गएपनि अझैपनि करोडौंको पुष्पजन्य सामग्री आयात हुने गरेको छ ।
नेपालमा विशेषगरी सयपत्री, गुलाब, कट फ्लावरलगायतका सामग्री भारत, जापान थाइल्यान्डलगायतका मुलुकबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।
आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट ४६ लाख रुपैयाँको पुष्पजन्य सामग्री निर्यात भएको छ भने २० करोड ९२ लाख बराबरको आयात भएको छ ।
पछिल्लो समय यस क्षेत्रमा युवा आकर्षण बढेपनि उपयुक्त सरकारी नीति र कार्यक्रमको अभावले गर्दा उत्पादन बढ्न नसकेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठको भनाइ छ ।
उनले नेपालमा पुष्पजन्य उत्पादनको पर्याप्त सम्भावना भएपनि सरकारको प्रयासको अभावमा नेपालमा आयात बढिरहेको जिकिर गरे ।
सरकारले यथोचित सहयोग गरे आयात प्रतिस्थापन गर्न व्यवसायीहरु सक्षम रहेको उनले दाबी गरे ।
सरकारले यस क्षेत्रको विकासका लागि कनिका छर्नेजस्ता काममात्रै गरिरहेको उनको भनाइ छ ।
नेपालमा करिब ४४ हजारभन्दा बढी किसानहरु यस क्षेत्रमा संलग्न रहेको एसोसिएसनको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्