Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


तेस्रो मुलुक जान हिडेका छ भारतीयको क्वारेन्टिनमा मृत्यु


0
Shares

काठमाडौं । छिमेकी मुलुक भारतबाट तेस्रो राष्ट्रमा जान नेपाल आएका ६ जना भारतीयको क्वारेन्टिनमै मृत्यु भएको छ ।आइतबारदेखि मंगलबारसम्ममा क्वारेन्टिनमा बस्ने क्रममा बिरामी परेर राजधानीका विभिन्न अस्पतालमा भर्ना भएका ६ जना भारतीय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको समाचार स्रोतले बताएको छ ।

स्रोतका अनुसार अझै पनि साउदी अरब, सिंगापुरलगायतका तेस्रो मुलुक जाने प्रतीक्षामा रहेका ५ सयदेखि ६ सय भारतीय नागरिक यतिखेर काठमाडौंमा क्वारेन्टिनमा बसिरहेका छन् । उनीहरूमा कोरोना संक्रमण देखिने सम्भावना उच्च रहेको बताइएको छ ।भारतले कोरोना महामारीका कारण विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा रहेका भारतीयहरू नेपाल भएर पुनः काममा फर्कन थालेका हुन् । माघको दोस्रो सातादेखि गत मंगलबारसम्ममा ४० हजारभन्दा बढी भारतीय कामदार काठमाडौंस्थित भारतीय दूतावासबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएर आफ्नो विदेशी कर्मथलोमा फर्किसकेका छन् ।

वैशाख ७ गते भारतीय दूतावासको आग्रहमा गृह मन्त्रालयले भारतबाटै अध्यागमनको छाप लगाएर आएका भारतीय नागरिकलाई ‘नो अब्जेक्सन लेटर’ बिना नै तेस्रो मुलुक जान दिने निर्णय गरेको थियो ।यसैबीच स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी नेपालाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकलाई कोभिड–१९ को परीक्षण नगरिदिन सबै प्रयोगशालालाई निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो निर्देशनविपरीत परीक्षण गरेको पाइएमा नियमअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

स्वास्थ्य मन्त्रालयको यो चेतावनीलगत्तै अध्यागमन विभागले सोमबार एउटा सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी तेस्रो मुलुक जान बुधबार राति १२ बजेदेखि रोक लगाएको छ । समाचारपत्र