२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


निदान अस्पतालमा मिर्गौला ‘किनबेच’, अस्पतालका सीइओसहित पाँचजना पक्राउ


0
Shares

काठमाडौं, असोज २९ । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपणमा संलग्न पाँचजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा निदान अस्पतालका सीइओ बिपेन्द्र प्रधान, निदान अस्पतालका लिगल अफिसर कुमुदकुमार भट्टराई, निदान अस्पतालका चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला ग्रहण गरेका रामेछाप, दोरम्बाका शंकरलाल लामा रहेका छन् ।

उक्त अस्पतालमा मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा सो घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।