२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


महिला ‘फ्रेन्चाइज’ क्रिकेटमा चितवनको विजयी सुरुआत


0
Shares

काठमाडौं, असोज २९ । क्याट क्वीन्स काठमाडौंलाई हराउँदै चितवन राइनोज्ले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) ट्वेन्टी–२० क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवन राइनोज्ले क्याट क्वीन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्‍यो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित् २० ओभरमा ‘अलआउट’ हुनुपूर्व ९२ रन जोडेको थियो ।

दुई खेलाडीले मात्र दोहोरो ‘स्कोर’ खडा गर्न सकेको इनिङ्समा रश्मी चौलागाइँले २५ बलमा ३४ तथा सरस्वती कुमारीले २६ बलमा १५ रन जोडिन् ।

चितवनका लागि ‘प्लेयर अफ दी म्याच’ सन्तोषी चौधरीले १४ रन खर्चेर ३ तथा रेखा रावल र कविता गौतमले २/२ विकेट लिए ।

जवाफमा ९३ रनको सामान्य चुनौती चितवनले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

सुमन खतिवडाले २३ बलमा २९ तथा प्यारी चौधरीले २७ बलमा अविजित २४ रनको योगदान दिइन् ।

जितसँगै चितवनले प्रतियोगिताको पहिलो खेलबाट २ अंक जोडेको छ ।

नेपालमा पहिलोपटक सुरु भएको महिला क्रिकेट ‘फ्रेन्चाइज’ प्रतियोगितामा देशका पाँच सहरका पाँच टोली सहभागी छन् ।

क्वीन्स इभेन्ट मेनेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगितामा काठमाडौं, ललितपुर, चितवन, पोखरा र विराटनगरका फ्रेन्चाइज टोलीहरु सहभागी छन् ।

विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एकथान स्कुटरसहित ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमेनले जनही २५ हजार प्राप्त गर्ने जनाइएको छ ।