काठमाडौं । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।
पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ ।
केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ । शनिबार मात्रै तीन महिनायताकै १४ संक्रमितको मृत्यु भएको छ ।
संक्रमणदर बढ्दै गए भएका संरचना धान्न सक्ने अवस्था नभएको सरकार आफैंले बताइसकेको छ । मुख्यतः भारतमा संक्रमणदर बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो । हाल, भारतमा दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण देखिँदै आएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले यो अवस्था कोरोना संक्रमणको अत्यन्त जोखिम अवस्था रहेको भन्दै आम व्यक्ति सचेत र चनाखो हुनुपर्नेमा जोड दिए ।
‘अधिकांश फोन, आईसीयू र भेन्टिलेटर खोजीमा आउँछन् तर टेकु अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ,’ उनले भने, ‘अब वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन ।’
उनका अनुसार बिरामीमा सुधार हुने अनुपात पनि घट्दोक्रममा रहेको भन्दै कोरोना संक्रमण दिन दुई गुणा, रात चौगुनाको दरले बढ्दै गएको छ । जनस्वास्थ्य विज्ञले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । राजधानी










प्रतिक्रिया दिनुहोस्