काठमाडौं । कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भिड विदेशतिर लागेको छ । भिडका कारण दुबई जाने हवाई भाडा १० गुणा बढेको छ । तर, पनि सिट नपाएका धनाढ्यहरू जहाज चार्टर्ड गरेर विदेशिएका छन् ।
भारतबाट सबैभन्दा बढी उडान हुने करिडोरमध्ये दुबई प्रमुख हो । कोरोना संक्रमणमा भारतमा दिनहुँ उच्च रेकर्ड बन्न थालेपछि दुबईले भारतबाट आउने उडान आइतबारबाट स्थगित गर्ने सूचना दिइसकेको छ । त्यसैले अन्तिम घडीमा भए पनि देशबाट निस्किन खोज्नेहरूका कारण हवाई टिकटको मूल्यले रेकर्ड बनाएको हो । बेलायतलगायतका थुप्रै देशले भारतसँगको हवाई उडान स्थगित गरिसकेका छन् ।
भारत र दुबईबीच सातामा करिब तीन सय उडान हुन्छन् । तर, पछिल्ला दिनमा ती उडान पनि कम भए । शुक्रबार र शनिबारका उडानमा मुम्बईबाट दुबईसम्मको यात्राको भाडादर भारु एक लाखसम्म पुगेको थियो । सामान्य अवस्थामा यो रुटमा करिब भारु १० हजार मात्र भाडा लाग्छ । त्यस्तै, नयाँ दिल्लीबाट दुबई जाने टिकटको मूल्य पनि भारु ५० हजार पुगेको थियो । तर, महँगो टिकट पनि प्राप्त नभएपछि धमाधम जेट विमान चार्टर्ड भएका थिए ।
‘जहाज चार्टर्ड गर्न मान्छेहरू यसरी आतुर थिए कि हामीले यसअघि यस्तो कल्पनासमेत गरेका थिएनौँ,’ एक एअर चार्टर कम्पनीका अधिकारीले एएफपीलाई भने, ‘हामीले मात्रै १२ जहाज चार्टर गरेका छौँ, तर पनि माग धान्न सकिएको छैन । हामीले विदेशबाटै जहाज मगाउने कोसिस गरिरहेका छौँ ।’
मुम्बईबाट दुबईसम्मको उडानका लागि १३ सिटको जहाज चार्टर गर्न ३८ हजार अमेरिकी डलर र ६ सिटको जहाज चार्टर गर्न ३१ हजार अमेरिकी डलर लाग्छ । तर, अहिले पैसाको होइन, जहाजको कमी भएको व्यवसायीहरूले बताएका छन् ।
‘एक्लै जहाज चार्टर गर्न नसक्नेहरू समूह मिलेर आउन थालेका छन् । कतिपय थाइल्यान्डतर्फ जान खोजेका छन् । तर, धेरैजसोले दुबई नै रोजेका छन्,’ ती व्यवसायीको भनाइ छ । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्