२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एनआरएनएको आर्थिक नीति अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप हुनुपर्छ : महेशकुमार श्रेष्ठ


0
Shares

काठमाडौं । गैर आवसीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनका लागि कोषाध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले एनआरएनएलाई आर्थिक पारदर्शी र मितब्ययी बनाउन आफूले उम्मेद्वारी दिएको बताएका छन् ।

हामीसँग कुरा गर्दै उनले विश्वभरका नेपालीको साझा संस्था एनआरएनएको कोषलाई मजबुत बनाउने, आर्थिक पारदर्शी राख्ने साथै नेपालीहरुले गरेको लगानीको प्रतिफल आउने गरी नीतिगत सुधार गर्ने अभियानका साथ चुनावी मैदानमा उत्रिएको उनको दाबी छ ।

बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका उनी अध्ययनका सिलसिलामा २५ बर्षअघि जापान पुगेका उनी डेढ दशकदेखि एनआरएनए अभियानमा क्रियाशिल छन् ।

१० बुँदे घोषणापत्र जारी गर्दै चुनावी मैदानमा रहेका उनले रेमिट्यान्स, रेष्टुरेन्ट, हाइड्रो, बैकिङ, कृषि, ट्राभल, आइटी, इन्स्युरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधार लगायतका व्यवसायिक क्षेत्रमा हात हालेका छन् ।

उनले भने, ‘मैंले १० बुँदे घोषणा पत्र मार्फत मेरा योजनाहरु सार्वजनिक गरिसकेको छु । गैर आवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जबाफदेहिता मेरो पहिलो प्राथमिकता हो ।’ त्यसबाहेक संस्थालाई एउटा मोडेल बनाउने योजना छ । बार्षिक आठ करोड संस्थामा भित्र्याउने स्पष्ट योजना म सँग छ । आर्थिक स्रोत जुटाउने अन्य थुप्रै योजनाहरु छन्, उनले आफ्ना योजना सुनाए ।

नेपालीहरुको लगानी सुरक्षित गर्न र आम्दानी दिलाउन राज्यले मौद्रिक नीति तथा आर्थिक नीति सोही अनुरुप बनाउनु पर्ने उनको धारणा छ । एनआरएनएको आर्थिक सुधार गर्न पनि सोही अनुरुपमा आर्थिक नीति तयार नगरी हुँदैन्, उनले भने, ‘यसका लागि म सँग स्पष्ट खाका तयार छ, काम गरेर देखाउने छु ।’

एनआरएनएको कोषाध्यक्षमा विजयी भएलगत्तै वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोष, आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गर्ने, सचिवालयको खर्चमा मितव्ययिता पहिलो प्राथमिकता राख्ने उनले बताए ।

गैरआवासीय नेपाली संघ (एनआरएन) सन् २०१९–२१ नवौं विश्व सम्मेलन असोज २८ गते देखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनका लागि विश्वका ८१ देशका प्रतिनिधि नेपाल आइसकेका छन् । सम्मेलन तीन दिनसम्म चल्नेछ ।