
-दुर्गा उपाध्याय, ईमेज
कन्चनपुर । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोरको निर्माण कार्यमा ढिलाइ भइरहेको छ ।
काम सुरु भएको एक दशक बितिसक्दा पनि ब्रह्मदेवबाट ट्र्याक खोल्ने काम अझै सुरु हुन सकेको छैन ।
कञ्चनपुरको ब्रह्मदेवदेखि, दार्चुला हुँदै टिंकर जोड्ने महाकाली करिडोरको निर्माण कार्य २०६६ सालदेर्खि सुरु भएको थियो । सुदूरपश्चिमकै गौरवको आयोजनाका रुपमा लिइएको करिडोरको निर्माण कार्यमा ढिलाइ भएको हो ।
तीन वर्षअघि कञ्चनपुर, डडेल्धुरा बैतडी र दार्चुलामा तीन वर्षअघि ५२ करोड रुपैयाँमा ट्रयाक खोल्ने ठेक्का सम्झौता भएको थियो ।
पहाडी तीन जिल्लामा ट्रयाक खोल्ने काम सुरु भए पनि कञ्चनपुरमा भने अहिलेसम्म कुनै सुरसार देखिएको छैन । करिडोर निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीय पनि निराश बनेका छन् ।
महाकाली करिडोरको लम्बाई कञ्चनपुरको ब्रम्हदेवदेखि दार्चुलाको टिंकरसम्म कूल ४ सय २५ किलोमिटर रहेको छ ।
जसमध्ये सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्दछ ।
कार्यालयका अनुसार हालसम्म ३३ करोडको लागतमा बैतडीमा ६२, दार्चुलामा ५२ र डडेल्धुरामा ११ किलोमिटर गरी १ सय २५ किलोमिटर ट्«याक खोलिएको छ ।
महाकाली नदीको किनारबाट जाने भनेर काम सुरु गरिएपनि पञ्चेश्वर आयोजनका कारण हेरफेर गर्दा काममा ढिलाइ भएको बताइएको छ ।
कञ्चनपुरको सडकमा चुरेसँगै वन पर्ने भएकाले एक महिनाअघि मात्रै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट तयार गरेर मन्त्रायलमा बुझाएकाले पास हुनासाथ काम सुरु हुने आयोजनाका सब इन्जिनियर रुविन भुसालको भनाइ छ ।
महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ ।
निर्माणको गतिले भने समयमै काम सम्पन्न हुनेमा आशंका थपिदिएको छ ।
प्रतिक्रिया दिनुहोस्