काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिएर संसद् अधिवेशन अन्त्य गर्ने उनको कदममा असन्तुष्टि जनाएका छन् ।
संसद्मा प्रतिपक्षको भूमिकामा हुँदा पनि प्रधानमन्त्री ओलीको समर्थनमा झैँ देखिएको आरोप खेप्दै आएका देउवाले सोमबार निकै लामो समयपछि प्रधानमन्त्री ओलीविरुद्ध चर्को अभिव्यक्ति दिएका हुन् ।
नेपाल विद्यार्थी संघको ५२औँ स्थापना दिवस समारोहमा बोल्दै देउवाले भारतविरुद्ध नारा लगाएर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि पुगिसकेको टिप्पणी गरेका छन् ।
नेपाल विद्यार्थी संघको ५२औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘हिजो सबैभन्दा राष्ट्रवादी भनेर, भारतविरुद्ध नारा लगाएर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ त्यो राष्ट्रवाद ? यिनीहरू राष्ट्रवादी पनि होइनन् । खालि ‘अपरचुनिस्ट’ मात्रै हुन् । एकातिर ओलीको सरकारले सम्पूर्ण राजनीतिक हथकन्डा मच्चाएको छ, अर्कोतिर कोभिडको महामारी छ, यतिवेला देश खतरामा छ । देउवाले ओलीलाई हटाउन चाहेन भन्ने आरोप छ । मैले किन नचाहने ? तर, के भने ‘सियोर सट’चाहिँ हुनुपर्यो । यसबारे सरसल्लाहचाहिँ हुँदै छ, तर अहिले केही भनिहाल्ने अवस्था छैन । मैले ठूलो बोल्ने काम पनि छैन ।’
यस्तै ससद् अधिवेशन आकस्मिक स्थगन गरिएको भन्दै कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैठकले सरकारको स्वेच्छाचारी प्रवृत्तिको भत्र्सना गरेको छ ।
‘सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धतिको बर्खिलाप छ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा छ । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्