चितवन । भयावह बनिरहेको कोरोना संक्रमणका कारण चौतर्फी सन्त्रास छ, संक्रमित बढेकाबढ्यै छन् । सरकारले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । तर, प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा मंगलबार तामझामसहित बालुवाटारबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवन ल्याइँदै छन् । रथमा मूर्ति राखेर करिब पाँच सय सवारीसाधनसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुग्नेछ ।
प्रधानमन्त्री ओलीले गत वर्षको २९ असारमा बालुवाटारमा मनाइएको २०७औँ भानुजयन्तीको कार्यक्रममा रामको जन्मभूमि भारतको अयोध्या नभएर चितवनको अयोध्यापुरी भएको दाबी गरेका थिए । त्यसलगत्तै उनले माडीका स्थानीय जनप्रतिनिधिलाई काठमाडौं बोलाएर अयोध्यापुरीमा राममन्दिर बनाउन निर्देशन दिएका थिए । आगामी वर्षको चैते रामनवमीका दिन मूर्ति अनावरण गर्दै मन्दिर उद्घाटन गर्ने घोषणा उनले गरेका थिए ।
प्रधानमन्त्री ओलीले सरकारीनिवास बालुवाटार राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाउन लगाएका थिए । मंगलबार ती मूर्ति उनले स्वस्तिवाचनसहित धार्मिक विधिबाट हस्तान्तरण गर्ने कार्यक्रम छ । आफ्नै खर्चमा मूर्ति निर्माण गरिएको उनले बताउँदै आएका छन् ।
अयोध्यापुरी व्यवस्थापन समितिका संयोजक तीर्थराज भुसालका अनुसार प्रधानमन्त्रीले मूर्ति हस्तान्तरण गरेपछि रथ, बग्गीसहितको कलशयात्रा र करिब पाँच सय सवारीसाधनसहितको शोभायात्रा मूर्ति बोकेर चितवनका लागि हिँड्नेछ । शोभायात्रा साँझ चितवनको तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा पुग्नेछ । नागढुंगाबाट भने रथमा रहेका मूर्तिलाई गाडीमा राखेर ल्याइनेछ ।
भुसालका अनुसार शोभायात्रालाई देवघाट क्षेत्र विकास समितिले भव्य स्वागत गर्ने कार्यक्रम छ । काठमाडौंबाट टोलीमा आउनेसहित गरेर आठ सयजनालाई खान र बस्नका लागि देवघाटमा व्यवस्था गरिएको छ । बुधबार बिहान आठ बजे देवघाटका विभिन्न पीठाधीशहरूको उपस्थितिमा मूर्तिहरूको जलाभिशेष गरेपछि माडीस्थित अयोध्यापुरी पठाइनेछ ।
अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्न अस्थायी मन्दिर निर्माण गरिएको छ । अयोध्यापुरी व्यवस्थापन समितिअन्तर्गतको प्रचार–प्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीका अनुसार देवघाटबाट पनि भव्य कार्यक्रमसहित मूर्तिहरू माडी ल्याइनेछ । बिहान ८ बजे नै बाह्मणहरूबाट स्वस्तिवाचन र मन्त्रोच्चारणसहित मूर्तिहरू माडीतर्फ लगिनेछ । स्थानीय रेवा नदी (रिउ खोला)मा परशुराम कुण्डको जलले मूर्तिहरू अभिषेक गरिनेछन् । स्थानीयलाई बाटो किनारमा बसेर स्वागत गर्न आह्वान गरिएको छ । बुधबार माडीमा नौ सय सवारीसाधन राख्ने र एक हजार पाँच सयजनालाई खान–बस्नका लागि व्यवस्था गरिएको उनले बताए । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्