Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


मंगलबार अविश्वास प्रस्ताव दर्ता हुने सूचना पाएपछि संसद्को चालू अधिवेशन सोमबार नै अन्त्य


0
Shares

काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको अन्तिम तयारी भएको  सूचनापछि प्रधानमन्त्री केपी ओलीले हठात् संसद्को अधिवेशन अन्त्य गराएका छन् । प्रमुख विपक्षी दल कांग्रेस र माओवादी मिलेर मंगलबार दिउँसो १ बजेअगाडि नै अधिवेशन अन्त्य गर्ने तयारी गरेका थिए, तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले सोमबार दिउँसो १ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरिन् । 

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । उनीहरूबीच मंगलबार संसद् बैठकअघि नै अविश्वासको प्रस्ताव अगाडि बढाउने सहमति बनेको थियो । 

‘दुवै पार्टीले सोमबार आ–आफ्नातर्फबाट औपचारिक निर्णय गराउने र मंगलबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थियो । त्यसैका लागि सोमबार नै कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक र माओवादीले स्थायी कमिटी बैठकसमेत बोलाएका थिए,’ कांग्रेसका एक नेताले भने । 

करिब डेढ महिनाको गृहकार्यपछि कांग्रेस र माओवादी सहमतिमा पुगेको थाहा पाएपछि प्रधानमन्त्रीले ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक डाकेर संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस पठाएका थिए । संसद् अधिवेशन अन्त्य भएको खबर पाएपछि माओवादीले स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरेको थियो । त्यस्तै साँझ बसेको कांग्रेस बैठकमा संसद् अधिवेशन अन्त्य गर्ने ओलीको कदमबारे छलफल भए पनि अविश्वास प्रस्ताव दर्ताबारे ठोस निर्णय भएको छैन । 

संसद् अधिवेशन अन्त्य भएपछि के गर्ने ? कांग्रेस र माओवादीले त्यस्तो कुनै निर्णय गरेका छैनन् । पहिला अविश्वास प्रस्तावमा औपचारिक सहमति गर्ने, संसद् सचिवालयमा प्रस्ताव दर्ता गर्ने र  अधिवेशनका लागि राष्ट्रपतिकहाँ समावेदन लिएर जाने कांग्रेस र माओवादीको अबको रणनीति छ । यद्यपि, एमसिसी पारित कसरी र कहिले गर्ने भन्नेमा देउवा र प्रचण्डबीच अन्तिम सहमति भइनसकेको, तर सहमति जुटाएर सत्तासमीकरणका लागि अगाडि बढ्न तयार भएको स्रोतहरू बताउँछन् । 

नयाँ पत्रिका